केदार वाशिष्ठ

बुद्धबारे लेखिएका सामग्री ज्यादै धेरै छन् । विभिन्न भाषा र विधामा बुद्धको प्रचार प्रसार पाइन्छ । त्यसरी आउने सामग्रीमा बुद्धको जीवन, बुद्धको समय, बुद्धको विचार, बुद्धका अनुचर वा अनुयायी आदि विषयवस्तु समेटिएका हुन्छन् । तिनलाई बौद्ध धर्म वा दर्शनका रूपमा पनि अथ्र्याइने पाइन्छ ।
बुद्ध आफैँमा एक व्यक्ति होइनन्, विभिन्न नामका बुद्धको इतिहास बौद्धमार्गमा रहेको पाइन्छ । तीमध्येका एक सिद्धार्थ गौतम वा गौतम बुद्ध हुन् । नेपालको सन्दर्भमा बौद्धमार्गको धेरै परिचर्चा गौतम बुद्धकै आधारमा हुने गर्दछ । अर्थात् बौद्धमतले मानिसको जीवनपद्धतिमा बौद्धमार्ग स्थापना गरिदियो । त्यसले बौद्ध धर्म वा बौद्ध दर्शनको मान्यता पायो । सम्प्रदाय हुँदै बौद्ध धर्म विस्तार भयो र फेरि त्यसमा पनि विभिन्न सम्प्रदाय बन्दै गए । बौद्ध दर्शनले बेग्लै रूपमा मानिसमा प्रभाव छाड्दै गयो । बौद्ध धर्म वा सम्प्रदायमा नरहने पनि बौद्ध दर्शनबाट निर्देशित हुने क्रम बढ्दो छ ।

यसै सन्दर्भमा बौद्धविचार धर्म हो कि दर्शन हो भन्ने परिचर्चा पनि हुनु स्वाभाविक हो । विभिन्न विचार समूहमा कसैले धर्म हो भन्ने गरेको र कसैले धर्म होइन दर्शन हो भन्ने गरेको अभिमत पाइन्छ । त्यसै सन्दर्भमा बौद्ध धर्म वा दर्शन के चाहिँ ठिक हो भन्ने पथप्रदर्शन गर्ने पुस्तक ‘बौद्ध दर्शन ः सहज चिन्तन’ केही समयअघि बजारमा आएको छ ।
बसन्त महर्जनले लेख्नुभएको पुस्तक ५४ वटा लेखको सङ्ग्रह हो, जसमा बुद्धको जीवन, कर्म, व्यवहार, आचरण र विचारलगायतका विविध पाटाको सूक्ष्म विश्लेषण छ । आम मानिससरह एक सञ्चारकर्मीको सामान्य प्रश्न र त्यसमा लोमान्थाङका लामाबाट दिइएको जवाफलाई आधार बनाएर पुस्तकको अवधारणाको वीजारोपण भएको महर्जनले उल्लेख गर्नुभएको छ । लामाले दिएको जवाफ “चोरी नगर्नु, झुठो नबोल्नु, हत्या हिंसामा संलग्न नहुनु” भनी शीलका कुरा बताउँदा ती शील त आफूले अपनाएको धर्म (हिन्दु) सँग मेल खाने रहेको प्रश्नकर्ताले बुझेको स्मरण परिचय खण्डमा दिइएको छ ।

वास्तवमा बौद्ध मात्र होइन संसारका जुनसुकै धर्मको पनि आधार भनेको असल कामको मार्गदर्शन हो । त्यसैअनुसार असल आचरण वा शीलको तालमेल देखिएको हो तर दर्शनले त्यस्ता कुराको सत्यापनको आधार पनि प्रदान गर्दछ । गौतम बुद्धले स्थापना गरेका सत्य र अहिंसा तथा दुःखको निवारण लोकको हितका लागि मार्गदर्शक बने । आफूमा असल भावना भएका समूहले त्यसलाई धर्मका रूपमा ग्रहण गरे । कतिपयले सत्यापनको आधार माने र दर्शनका रूपमा ग्रहण गरे । आखिर दुवैले लोकहितका लागि नै वकालत गर्दछन् ।
पुस्तकमा यस्तै आधारमा बौद्ध धर्म र बौद्ध दर्शनका तथ्यहरूको परीक्षण गरिएको छ । प्रस्तुत पुस्तकसहित बुद्ध र बौद्धमतबारे ११ वटा पुस्तक प्रकाशित गरिसक्नुभएका चिन्तक महर्जनले बौद्ध धर्मभन्दा बौद्ध दर्शनलाई प्राथमिकता दिनुभएको छ र त्यसै आधारमा चिन्तन गर्दै पुस्तकको नामकरण गर्नुभएको छ ।

२०७१ देखि २०७८ सम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरूको सँगालो वास्तवमा नै बुद्ध र बौद्ध चिन्तनबारे बुझ्न मिहिन सामग्रीको सङ्ग्रह हो । बौद्ध धर्म वा बौद्ध दर्शन बुझ्न पहिले बुद्धलाई नै चिन्नुपर्ने आग्रहसहित बुद्धलाई चिनाउने पर्याप्त गहन सामग्री पुस्तकमा छन् ।
पुस्तक अनुसन्धानमूलक रहेको छ तर स्रोत र सन्दर्भ सामग्रीको स्पष्ट उल्लेख नपाइनुले यसको महìवालाई अलि कमजोर पारेको छ । पत्रपत्रिकामा प्रकाशित नै लेखहरू भएको भए पनि तिनमा केही मिहिनेत गरेर सन्दर्भ स्रोतको उल्लेख गरेको भए पुस्तक अरू गहन हुने थियो । भाषिक सम्पादनमा पनि लेखकले त्यति ध्यान नदिएको अनुभव हुन्छ ।

तथापि यी आधारमा मात्र पुस्तकलाई कम आकलन गर्नु अनुसन्धानकर्ताले गरेको कामप्रति अन्याय हुन्छ । आगामी संस्करणमा यस्ता केही कमजोरीमा सुधार हुने अपेक्षा गर्नु अन्यथा हुँदैन । इन्साइट पब्लिकेसन प्रालिले प्रकाशन गरेको पुस्तक २४६ पृष्ठको र मूल्य ५०० रुपियाँ रहेको छ । बुद्धबारे जान्ने पर्याप्त सामग्री रहेको पुस्तक सङ्ग्रहणीय पनि छ ।

(प्रस्तुत समीक्षा गाेरखापत्र दैनिकमा प्रकाशित सामग्री हाे र यहाँ क्लिक गरेर पनि पढ्न सकिन्छ)

Leave a Reply

Your email address will not be published.