नेपाली पत्रपत्रिकाहरूको बजारमा एकताका साँझ निस्कने दुइ पन्नाका सन्ध्याकालीन पत्रिकाहरू खुबै देख्न पाइन्थ्यो । त्यसमा एउटाको नाम हो– विश्वभूमि । साँझ निस्कने पत्रपत्रिकाहरूमा यो पत्रिका विशेष हुनुको कारण यो नेपाल भाषामा भएकोले मात्रै होइन, सन्ध्याकालिन नेपाली पत्रिकाको इतिहासमा यो पहिलो हो ।

वर्षैभरि निस्कने अर्थात् कुनै पनि चाडवाड वा सन्दर्भमा पनि बन्द नहुने यो पत्रिका जगत्मा चर्चित पनि थियो । निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध २०४५ सालको जनआन्दोलनमा यो पत्रिकाले प्रजातन्त्र पुनःस्थापनामा ठूलो योगदान पुर्यायो । सीमित पत्रिकाबीच ‘विश्वभूमि’ आन्दोलनकारी तथा सर्वसाधारणका लागि सूचनाको भरपर्दाे स्रोत बन्यो ।

यो त्यही पत्रिका हो, जसमा म २०५२ सालदेखि संलग्न भएँ र मेरो पत्रकारिता जीवनको सुरूवात भयो । यो पत्रिका म कहिल्यै विर्सन्नँ, तर आज यो पत्रिकालाई सम्झनुको कारण हो, यस पत्रिकाको सम्पादक तथा प्रकाशक सुशीलवीर सिंह कंसाकारको कोभिड–१९ को संक्रमणबाट जेठ १९ गते निधन हुनु ।

सुशील दाइ रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयका विद्यार्थी थिए । उनले केही साथीलाई जम्मा पारेर नेपाल भाषामा एउटा पत्रिका प्रकाशन गर्ने सोच बनाए । अर्का पत्रकार अशोक श्रेष्ठ पनि यसमा संलग्न भए । त्यो बेला पत्रपत्रिका दर्ता गर्न त्यति सजिलो थिएन । यसकारण पहिल्यै दर्ता पत्रिकालाई नै भाषा परिवर्तन गरी नेपाल भाषामा निकाल्न थाले ।

नेवार समुदाको पनि विविध जानकारी दिनुका साथै प्रजातन्त्रको वकालत गर्ने यो पत्रिकाको म नियमित पाठक थिएँ र बेला बेलामा सम्पादकलाई चिठी लेखिरहन्थेँ, पछि लेखहरू पनि यसैमा छपाउन थालेँ ।

२०५२ सालतिर यो पत्रिकामा आन्तिरक खिचलो भयो । दुई समूहमा विभक्त व्यवस्थापनले एउटै नाममा बेग्लाबेग्लै ठाउँबाट पत्रिका निकाल्न थालेको असमञ्जसपूर्ण स्थिति पनि सिर्जना भयो । पछि, सुशील दाइको नेतृत्वमा रहेको पत्रिका नै वैधानिक हो भन्ने फैसला भएपछि अर्काे समूहले बेग्लै नाममा पत्रिका निकालेपछि विवाद समाधान भयो ।

यो खिचलोभन्दा अघि नै निस्केर अशोक श्रेष्ठले ‘न्हूगु विश्वभूमि’ नामबाट बेग्लै पत्रिका निकाल्न थालिसकेका थिए । म त्यो पत्रिकामा पनि लेखरचनाहरू छपाउँथे । यसवापत मैले ‘न्हूगु विश्वभूिम पुरस्कार’ पनि पाएको थिएँ । मेरो पहिल्यै देखिको लक्ष्य थियो, पत्रकार बन्ने । यसअनुसार म आफूलाई तयार पनि पार्दै थिएँ ।

सुशील दाइले नेतृत्व गरेको विश्वभूमिमा पनि म बेलाबेलामा लेखहरू छपाउँदै गर्थे । उनीसँग मेरो परिचय भएको यही समय मात्र थियो । त्यो बेला म भौतिक मन्त्रालयअन्तर्गत एउटा प्रोजेक्टको कर्मचारी थिएँ । उक्त प्रोजेक्ट लगत्तै विश्वभूमि दैनिकमा पूर्णकालीन संवाददाता भएँ ।

पत्रकारिताको संघर्ष कस्तो हुन्छ भन्ने कुरा मैले विश्वभूमि दैनिकमा राम्रैसँग बुझेँ । बाह्य जगत्मा संघर्ष गर्नुका अलावा कार्यालयभित्र आफ्नै सहकर्मीहरूसँग पनि उत्तिकै प्रतिस्पर्धा र संघर्ष गर्नु पर्दथ्यो । वाह्यजगतमा त आफ्नै बलबुत्ताले संघर्ष गर्दै थिएँ र थोरै समयमा धेरै प्रगति गर्नसक्नुको कारण पत्रकारिताका लागि मेरो पहिल्यैदेखिको रुचि थियो । अरू सहकर्मीका लागि म इर्ष्या वा चुनौतीकै विषय भइसकेको थिएँ ।

थोरै समयमा उपलब्धी हासिल नगरेको र सामान्य रूपमा काम गरेर बसेको भए संभवतः मलाई आफ्ना सहकर्मीहरूबाट त्यति गाह्रो पर्दैनथ्यो होला । मेरा लागि तगाराहरू ठड्याउने काम सहकर्मीहरूबाट खुबै हुन्थ्यो । एकपछि अर्काे तगारा नाघ्ने काम पनि हुँदै गथ्र्यो ।

म विरूद्धको प्रत्येक चुग्ली वा षड्यन्त्रलाई निष्फल पार्ने र मलाई साथ दिने सुशील दाइ नै हुन्थे । सहकर्मीहरूबाट आजित भएर विश्वभूमि पत्रिका छाड्ने र अन्य पत्रिकामा संलग्न हुने मेरो प्रत्येक पल्टको सोचाइलाई उनले निष्फल पार्दिन्थे ।

मेरो रहर सम्वाददाता हुनुमा थियो । तर, जिम्मेवारी थपिँदै गयो । केही वर्षपछि नै मैले सहकर्मीहरूलाई पछाडि पारिसकेको थिएँ । इगो वा अन्य कारणले, विस्तारै ती सहकर्मी निस्कन थाले । बाँकी र नयाँ सहकर्मीहरूबाट पत्रिका चल्दै थियो । यति बेलासम्म जिम्मेवारी थुप्रै भएपनि औपचारिक रूपम म सम्वाददाता मात्रै थिएँ । राम्रो समाचार कसरी संकलन गर्ने, कहाँ सम्पर्क गर्ने, कसरी लेख्ने र प्रस्तुत गर्ने भन्ने चिन्तन नै मेरो उद्देश्य हुन्थ्यो ।

पत्रकारिताको अभ्यासमा ‘ट्याब्लोइड’ पत्रिकाको अभ्यास भिन्नै ढंगले हुन्छ । विश्वभूमि दैनिक पनि ट्याब्लोइड नै थियो । सनसनीपूर्ण समाचार कसरी संकलन गर्ने र कसरी प्रस्तुत गर्ने भन्ने सवालमा म पनि चमत्कार गर्न चाहन्थें । यसका बारेमा मैले जानेको मात्रै नभएर नजिकबाट देख्दै पनि थिएँ । त्यस कार्यमा मलाई बारम्बार हौसला दिने पनि सुशील दाइ नै थिए ।

‘ट्याब्लोइड’ भनेर त्यहीअनुसार अगाडि बढ्दा विश्वभूमिका पाठकलाई पाच्य नहुने र पाठक संख्या घट्ने धारणा उनको थियो । विश्वभूमि दैनिकको आफ्नै प्रेस थियो र यही प्रेसमा बाहिरबाट अन्य ट्याब्लोइड पत्रिकाहरू पनि छाप्न ल्याइन्थ्यो । ०४६ सालको जनआन्दोलनको क्रममा दशौं हजार प्रति छापिन्थ्यो । घामपानी, हावाहुरीले केही असर पार्दैनथ्यो । दैनिक तीन हजार प्रतिको दरमा छापिन्थ्यो । प्रत्येक घर पसलमा एक÷एकप्रति छाडिन्थ्यो ।

पत्रिका चलाउन मुस्किल हुन थालेको कुरा बेलाबेलामा भनिरहन्थे सुशील दाइ, तर म गर्न सक्ने केही होइन । गर्न सक्ने भनेको समयमा तलब थाप्न नपाएपनि चुप लागेर बस्ने मात्रै हो । समयमै पैसा तिर्न नसक्दा टेलिफोन लाइन काटिँदा बाहिर आफ्नै खल्तीको पैसा तिर्दै फोन गरेर पनि समाचार संकलन गरियो ।

विश्वभूमि दैनिक पार्टनरसीपमा चलाउने प्रस्ताव पनि आयो, तर म सहमत भइनँ । म पत्रकारमात्रै हुन चाहन्थें त्यो बेला, पत्रकारमा पनि विशेषतः संवाददाता मात्र । अन्ततः पत्रिका बन्द नै गर्ने निर्णयमा पुग्न बाध्य भयो । पत्रिका बन्द गर्ने भनेपछि अर्काे दिन म घरै बसेँ ।

केही दिन आराम गर्ने र पछि अन्य पत्रिकामा काम खोज्न जाने विचार थियो । तर साँझ पत्रिका निस्केछ । तुरून्तै फोन गरेँ । ‘बन्द गर्ने त भनेको हुँ तर बन्द गर्न मनले मानेन र जेजस्तो समाचार छ, त्यसैलाई राखेर भएपनि निकालेको हुँ’ भन्ने जवाफ आयो । अर्काे दिनदेखि पुनः काममा जान थालेँ र तलब नआए पनि पत्रिका भने निस्किरह्यो ।

तर एक दिन पत्रिका बन्द भयो । पत्रिका बन्द हुने बेलासम्ममा विश्वभूमिमा धेरै कुराको परिवर्तन भइसकेको थियो । पहिला सुशील दाइको मात्रै लगानी थियो भने, त्यो लगानी पनि जर्जर अवस्थामा पुगेको थियो । पत्रिका चलाइराख्नकै लागि अब वाध्यतावश लगानीकर्ताका रूपमा अन्य तीन जनालाई भित्र्याइएको थियो ।

पत्रिकाको व्यवस्थापनलगायत सम्पूर्ण जिम्मेवारी लगानीकर्ताकै हुन्थ्यो । स्पष्टरूपमा भन्नुपर्दा एउटा राजनीतिक दलको पक्षधर बन्नुपरेको थियो । पत्रिकामा सुशील दाइले उति साह्रो ध्यान दिन छाडिसकेका थिए । मेरो सम्पर्क पनि अब नयाँ लगानीकर्तासँग हुन्थ्यो । पछि लगानीकर्ताहरूसँग उनको वादविवाद बढ्न थाल्यो ।

अब दुवै पक्षको बीचमा म च्यापिन पुगेँ । दुवै पक्षले गर्ने टिप्पणी वा आरोप सुन्नुपथ्र्यो । कुरा कहाँसम्म पुग्यो भने, लगानीकर्ताहरूले पत्रिकामा मात्रै लगानी गरेका हुन्, प्रेसमा होइन । अघिल्लो दिन के कसो भयो थाहा भएन, भोलिपल्ट विहान थाहा भयो, उक्त प्रेसबाट अब विश्वभूमि छापिँदैन ।

यो दिन भनेको, नेवार समुदायले आफ्नो अधिकारको माग गर्दै उपत्यका बन्दको घोषणा गरेका थिए । अब के गर्ने ? प्रेसले छाप्दैन भने पत्रिका बन्द नै गर्ने भनेर लगानीकर्ताबाट जवाफ आयो । र, म अफिसबाट निस्केँ ।

उपत्यका बन्दकै दिनमा पत्रिका पनि बन्द भयो । उपत्यका बन्द त त्यही एक दिन मात्रै थियो । तर विश्वभूमि सँधैका लागि बन्द भयो । पत्रिका बन्द भएको सन्दर्भमा पछि चर्चाको विषय बन्यो । तर यी सम्पूर्ण चर्चामा म संलग्न भइनँ । पत्रिका हठात् बन्द भएकोमा म स्तब्ध र क्षुब्ध थिएँ । एक प्रकारले विरक्त पनि भइसकेको थिएँ । तर पछि अन्य पत्रिकाहरूमा संलग्न हुँदै पत्रकारिता जीवनमा नै रहेँ ।

पछि आफै प्रकाशक भएर पनि पत्रिकाहरू निकाल्न थालें । सुशील दाइसँग कहिलेकाहीँ भेट हुन्थ्यो र विश्वभूमि दैनिकलाई म संलग्न प्रकाशनबाट वा संयुक्त प्रकाशकत्वबाट भए पनि पुनः निकाल्ने कुरा पनि भएको थियो, तर मूर्तरूप भने लिन पाएन ।

मेरो पत्रकारिता जीवनको एउटा महत्वपूर्ण पाटो विश्वभूमि र त्यसको पात्र सुशीलवीर सिंह कंसाकारलाई मैले बिर्सन सक्दैन । हार्दिक श्रद्धाञ्जलि सुशील दाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *