बुद्ध र बौद्ध धर्मको तात्पर्य गौतम बुद्धसम्बन्धी मुख्य मुख्य कुरा र उनले दिएका नैतिक शिक्षाका उपदेशहरू हुन् भन्ने बुझाइ गलत नै त होइन, तर यो बुझाइ पर्याप्त पनि होइन । यस अवस्थामा बुद्ध र बौद्ध धर्मबारे जान्न बुझ्न चाहने जो कोहीले पनि थप अध्ययन त गर्नै पर्दछ ।

इ.पूू. ५६३ मा गौतम बुद्ध लुम्बिनीमा जन्मेको जानकारीले मात्रै बुद्धलाई बुझ्न सकिँदैन । उनी गृहस्थमा बसे चक्रवर्ती राजा हुने र गृहत्यागी सन्यासी भए सम्यकसम्बुद्ध हुने भविष्यवाणी गरिएको थियो । चक्रवर्ती राजा बनाउनका लागि गृहस्थ हुनु पर्यो र यसका लागि मनमा वैराग्य भाव आउन दिनुभएन । यसकारण वैराग्य भाव उत्पन्न गराउने बृद्ध, रोगी, शव र सन्यासी चार कुराबाट टाढै राखेको वर्णन पनि पाइन्छ । यी चार कुरा देख्न पुगेलगत्तै वैराग्य उत्पन्न भएर भर्खरकी सुत्केरी श्रीमती र शिशु तथा आमाबाबु र घरवार छाडेर मध्यरातमा भागेको कुरा प्रायः सामग्रीहरूमा उल्लेख पाइन्छ । यसरी नै ६ वर्षसम्म कठोर तपस्या गरेर बुद्धत्व प्राप्त गरेको भनेर गौतम बुद्धलाई सर्सर्ती चिन्ने र चिनाउने आम प्रचलन छ । यो पनि पर्याप्त होइन । अझ कतिपय सन्दर्भमा यी अपर्याप्त कुराहरू बुद्ध र बौद्ध धर्मलाई बुझ्ने र बुझाउने नभएर भुलभुलैयामा पारेर अर्थको अनर्थ पार्ने खालको पनि छ । यस अवस्थामा अलि चनाखो हुनुपर्ने आवश्यकता छ ।

गर्भवती मायादेवी सुत्केरी हुनका लागि माइती देवदहतर्फ लागेको तर बीच बाटोमा पर्ने लुम्बिनी वनमा सुत्केरी भएको भन्ने वर्णन स्थापित छ । यो वर्णनअनुसार शाक्य समाजमा पहिलो सन्तान माइतीमा जन्माउनु पर्दछ । तर यो कुरा न प्राचीन बौद्ध वाङ्मयहरूबाट पुष्टि हुन्छ न त तर्कसंगत नै छ । यशोधराको माइत पनि देवदह नै हो तर राहुललाई कपिलवस्तुमा नै जन्माएकी थिइन् । पहिलो सन्तान माइतीमा जन्माउने प्रथा रहेको कुरा अन्य कुनै सन्दर्भ वा प्रसङ्गमा पनि आउँदैन । बल्ल एउटा प्रसङ्ग भेटिन्छ, आफ्नै घरमा काम गर्ने सेवकसँग प्रेम भएर भागेकी एक महिला सन्तान पाउने बेलामा माइती फर्कन खोजेको । सुरक्षित सुत्केरीको चाहना सबैको हुन्छ र ढुक्क हुन नसकेर एउटै भरोसा माइतीतर्फ लागेको बुझ्न सकिन्छ । ती महिलाको नाम पछि ‘पटाचारा’ भयो ।

पालि बौद्ध वाङमयहरूमा बुद्धको जन्म लुम्बिनीमा भयो भन्ने मात्रै छ भने संस्कृत वाङमयको प्रसिद्ध ग्रन्थ ललितविस्तरअनुसार त मायादेवी लुम्बिनी वनलाई नै गन्तव्य बनाएर कपिलवस्तुबाट हिंडेकी थिइन् । शिशुको जन्म सामान्य नभएको र दायाँ काखीबाट भएको भन्ने वर्णन पनि सजिलैसँग गर्ने गरेको पाइन्छ । तर सामान्य रूपमा सुत्केरी नभएपछि आजभोलिको भाषामा ‘सिजरिंग’ गरेर शिशुलाई जन्म दिनु परेको थियो । यही क्रममा संक्रमण भएर वा रक्त बहाव धेरै भएर स्वास्थ्यमा प्रतिकुल असर प¥यो र त्यसको सातौं दिनमा आमा मायादेवीको मृत्यु हुनपुग्यो भन्ने अनुमान मेरो छ । र, यही कुरा आफ्ना लेखनहरूमा लेख्दै आइरहेको छु । यहाँ उल्लेखित यो प्रसङ्ग एउटा सानो उदाहरण मात्र हो ।

बुद्धको पहिलो र अन्तिम शिष्य को हुन् ? के कति कारणले यिनीहरू पहिलो र अन्तिम शिष्य बन्न पुगेका थिए भन्ने प्रसङ्ग कम रोचक र ज्ञानवर्धक छैन । पञ्चभद्रीय वर्ग भिक्षुलाई सारनाथमा उपदेश गर्न बोधगयाबाट हिँड्दै गर्दा बाटोमा भेटिएका परिव्राजक उपकको प्रसङ्ग यतिकै छुटेन, पछि बुद्धको शरणमा आएर भिक्षु बनेका थिए । गृहत्याग गरेदेखि बुद्धले ६ वर्षसम्म लगातार तपस्या गरेका थिएनन् । भोजन त्याग पनि गरेका थिएनन् । बरु, बुद्धत्व प्राप्तिपछि लगातार ४९ दिनसम्म केही नखाई निर्वाण सुखको आनन्द लिएका थिए । बुद्धसँग सम्बन्धित घटना तथा उनीसँग जोडिएका पात्रहरूको प्रसङ्ग पनि कम महत्वका छैनन् । यी कुराहरूबाट नै पनि धेरै महत्वपूर्ण जानकारी तथा ज्ञान प्राप्त गर्न सकिन्छ । यो स्तरका कुराहरू खोतल्ने र लेख्ने काम केही वर्षयतादेखि गर्दै आइरहेको छु भने त्यसैको सङ्गालोको रूपमा बुद्ध विमर्श तयार भएको छ । यस्ता प्रसङ्गहरू अरु पनि थुप्रै छन् र दुई चार लेखकले लेख्दैमा सकिने विषयवस्तु होइन । यसतर्फ अझ धेरै लेखकको ध्यान जानुपर्ने आवश्यकता छ ।

बुद्ध जीवनीमा नै पनि जोड्न सकिने प्रसङ्गहरूलाई यहाँ छुट्टै विषयवस्तुका रूपमा प्रस्तुत गरेको हुँ । सबै कुरा बुद्ध जीवनीमा नै राख्दा पुस्तक बृहत्ताकार मात्रै हुने नभएर खोजेको कुरा भेट्टाउन सानोतिनो कोशिशले नभ्याउने हुन्छ । उदाहरणका लागि बुद्ध र बौद्ध धर्मसम्बन्धी जे जति कुरा हो, विपुल बौद्ध ग्रन्थराशीमा नै पाइन्छ तर यी सबै न सर्वसाधारणको पहुँचमा छ न सबैका लागि ग्राह्य नै छन् । यस अवस्थामा लक्षित वर्गलाई आवश्यकताअनुसारको जानकारी दिने काम भएको छ । साथै, यसरी जानकारी दिने काम प्रत्येक लेखकले बेग्लाबेग्लै ढंगले दिने गर्दछन्, जसलाई आआफ्नो गच्छेअनुसार धर्म काममा लागेको भनेर बुझ्न सकिन्छ ।

पुुस्तकको पठनपछि पाठकलाई थप जानकारी प्राप्त भयो र केही सकारात्मक असर पर्यो भने म आफ्नो लेखनको सफलता मान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *