बसन्त महर्जन

काठमाडौंको एउटा सिनेमा हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्रकी नायिकाले दर्शकका रूपमा आएका एक लामाको गालामा थप्पड हानेको, माफी मगाएको र प्रहरी हिरासतमा पुर्‍याएको घटना फगत एउटा घटना मात्रै नभएर सार्वजनिक सरोकारको विषय बन्यो। बौद्ध भिक्षुले लगाउने रातो चीवर लगाएका किशोर बयका लामाको गालामा थप्पड हान्नु गम्भीर कुरा हो भने त्यो भन्दा गम्भीर र सम्वेदनशील कुरा लामाले नायिकाको शरीरमा खराब स्पर्श (ब्याड टच) गरेको आरोप लाग्नु हो। यो घटना वा आरोप अब पेचिलो प्रश्न बन्न पुगेको छ। नेपाली समाजका लागि यो प्रश्नको जवाफ खोज्नु र समस्या समाधानका उपायहरू पहिल्याउनु जरुरी छ।

घटना विवरणअनुसार सिनेमा हलमा एउटा नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो। चलचित्रको प्रवर्धनका लागि त्यस दिन कलाकारहरू पनि निम्त्याइएका थिए। चलचित्र प्रदर्शन सकिएपछि बाहिर कलाकार र दर्शकको भेटघाट भइरहेको थियो। यस्तो बेला भीडभाड हुनु स्वाभाविक हो। दर्शकहरू कलाकारसँग बसेर फोटो खिच्न लालायित थिए। एक छिन अघिसम्म फोटो खिचिरहेका किशोर वयका एक लामाको गालामा चलचित्रकी नायिकाले चड्याम्म थप्पड हानिन्। नायिकाका अनुसार लामाले उनलाई नियतवश नै बारम्बार खराब स्पर्श (व्याड टच) गरिरहेको थियो। लामाले सुरुदेखि दिइरहेको बयानअनुसार पछाडिबाट कसैले धकेलेको थियो र नायिकाको ढाडमा स्पर्श हुनपुग्यो। यसपछि ती लामालाई सार्वजनिकस्थलमै कान समातेर उठबस गराइन् र पछि प्रहरीको जिम्मा लगाइदिइन्। सामान्यत: यस्तो घटनालाई सार्वजनिकस्थलमा महिलालाई सेक्सुअल ह्यारेसमेन्ट गरेको मुद्दा लाग्छ र गम्भीर रूपमा लिइन्छ।

बौद्ध धर्म–दर्शन र बौद्ध समाजको अध्ययनमा रुचि राखी निरन्तर लेख्दै बोल्दै आएको मलाइ पनि सिनेमा हलमा भएको यो घटनाले ध्यानाकर्षण गर्‍यो। खराब स्पर्शविरुद्ध नायिकाले हानेको थप्पडको प्रशंसा गर्दै सामाजिक सञ्जालहरूमा गरिएका टिप्पणीहरू मात्रै होइनन्, लामा र बौद्ध समाजमाथि गरिएका नकारात्मक टिप्पणीहरू पनि असरल्ल छरिए। सुरुमा मैले पनि लामाबाट खराब स्पर्श नै भएको होला भन्ठानेको थिएँ किनभने बौद्ध भिक्षु वा लामा हुँदैमा तिनीहरू यी कुराहरूबाट मुक्त भइसकेका हुन्छन् भन्ने अनिवार्य छैन। आत्मसंयमको अभ्यास गर्ने मात्रै हो। त्यति नै बेला यसलाई अर्को दृष्टिकोणबाट पनि हेर्ने प्रयास गरें। आफूलाई लागेको कुरा आफूसम्बद्ध पुरानो घटनाको उल्लेख गर्दै फेसबुकको वालमा यसरी लेखें– ‘कीर्तिपुरको प्रसिद्ध मन्दिर बाघभैरवमा प्रत्येक भाद्र १ गते ठूलो जात्रा लाग्छ। उ बेला म क्यामेरा बोक्थें र बेलुका मन्दिरबाहिर घुमिरहेको थिएँ। एक जना मान्छेले एक्कासी मेरो कठालो समात्यो र भित्रको फोटो किन खिचेको भनेर सोध्यो। फोटो खिच्न दिंदैन र हुँदैन भनेर मलाई राम्रैसँग थाहा थियो। भित्र पसेकै छैन भनेर जति भने पनि मलाई छाडेकै होइन। अरु नै कसैले खिचे होलान्, समाउन आउँदा क्यामेरा बोकेको देखेर हो न हो मैले नै खिचेको भन्ठानेछ।

भीडमा कसैले मेरो क्यामेरा ‘खोसेर फुटाउ’ भने त कसैले के। मैले माफी  मागेको त होइन तर माग्दै नमागेको माफी दियो। मेरो कठालो समात्ने त्यो व्यक्ति ‘बिस्य:’ हो। बिस्य:हरू वर्षमा एक दिन मात्रै त्यहाँ बस्न आउने हुन्। वर्षमा एक दिन पाएको तुजुक देखाएको भनेर बुझ्न गार्‍हो थिएन। आफूलाई छोएको भनी एक फिल्मी नायिकाले पछाडि लामालाई गालामा चडकन दिएको घटनाले मलाई मेरो पुरानो कुरा सम्झायो। सीसी क्यामेराको फुटेजमा त अरु नै केटाले समाएको देखिन्छ।’

भीडभाडको भिडियो क्लिपहरू एकपछि अर्को गर्दै बाहिरिए। लामाले प्रहरीलाई सुरुदेखि दिइरहेको बयान एउटै छ, भीडमा पछाडिबाट ठेल्दा एक पल्ट मात्रै नायिकाको शरीरमा छुन पुगेको हो तर नायिकाका अनुसार छुने काम बारम्बार भइरहेको थियो। अर्थात्, अघि खराब स्पर्श गर्ने अरु नै कोही थिए र पछि थप्पड पाउनेमा लामा परेका हुन्। अन्तत: दुबै पक्ष सहमतिमा आई मिलापत्र भएर लामा प्रहरी हिरासतबाट छुटे।

प्रहरी हिरासतमा बनाइएको र दुबै पक्षले हस्ताक्षर गरेको उक्त मिलापत्रमा जालसाजी भएको देखिए पनि घटनाले पुन: अर्को मोड लिन पुग्यो। लामाका अनुसार नायिकाले घटनामा दुबैको गल्ती भएको र यस घटनालाई बढाइराख्दा आफ्नो करियरमा धक्का पुग्ने भन्दै याचना गरेको हुनाले मिलापत्रमा हस्ताक्षर गरेको हो तर मिलापत्रमा ती कुराहरू नभएर लामाले माफी मागेको र आफूले माफी दिएको भन्ने कुरा राखिएको छ। लामाले माफी मागेकाले आफूले माफी दिएको भन्दै हिँडेको भन्ने कुरा आयो। नायिकाविरुद्ध सार्वजनिक प्रदर्शनी तथा तोडफोडमा संलग्न भई सिनेमाको सार्वजनिक प्रदर्शनीमा रोक लगाउनेसम्म पुगिसकेको बौद्ध समाज यो मिलापत्रपछि विरोधमा उत्रन थप नैतिक बल मिलेको पाएँ। यसपछि सिक्किमलगायत भारतका विभिन्न सहरमा पनि सो चिलचित्र प्रदर्शन गर्न दिइएन।

लामामाथि थप्पड हानेको घटना कसैका नजरमा व्यक्तिगत कुरा होला तर बौद्ध समाजले सिद्धान्तत: यसलाई व्यक्तिगत स्तरमा हेर्दैन। बुद्धको शिक्षालाई मार्गदर्शनका रूपमा अंगीकार गर्नेहरू बौद्ध हुन् भने सोही शिक्षालाई विशेष रूपमा अध्ययन तथा साधना गर्न सम्पूर्ण घरव्यवहार त्याग गरी प्रवज्या लिएर गुम्बामा बस्नेहरू बौद्ध भिक्षु हुन्। प्रशिक्षण अवधिका व्यक्तिलाई श्रामणेर भनिन्छ। यिनीहरू सबैलाई सम्बोधन गर्ने बेलामा लामा नै भनिने हो। थप्पड खाएका लामा श्रामणेर हुन्। यिनीहरूबाट कुनै पनि प्रकारको गल्ती हुँदैन भन्ने मान्यता राख्नु एक खालको अतिवाद हो र गल्ती गर्ने लामा वा भिक्षुहरूप्रति बौद्ध समाजको श्रद्धा रहन्न। बौद्ध समाजमा भिक्षु–भिक्षुणीले लगाउने चीवर (वस्त्र)लाई संघको प्रतीक मानिन्छ र त्यसको सम्मान गर्नु भनेको व्यक्तिलाई नभएर संघलाई गरिएको हो। गल्ती गरेको अवस्थामा श्रामणेर मात्रै नभएर भिक्षुलाई नै पनि कसुरअनुसार दण्ड दिने प्रावधान रहेको छ।

सामान्यत: गुम्बा वा विहारमा बस्ने भिक्षु–भिक्षुणी वा श्रामणेर–श्रामणिकाहरू नाच्नु, गाउनु, फिल्म हेर्न सिनेमा हल चहार्नुजस्ता क्रियाकलाप दैनिक जीवनमा अनिवार्य रूपमा पालना गर्नुपर्ने शीललाई तोड्नु हो। जुन काम गर्दा वा क्रियाकलापमा संलग्न हुँदा शील भंग हुन्छ, त्यस्तोमा लाग्दै नलाग्दा उनीहरूलाई मानसम्मान प्राप्त हुन्छ। लामाहरूले मानसम्मान पाउने ठाउँ सिनेमा हलजस्ता मनोरञ्जनस्थल हुँदैहोइनन्। यसअनुसार सिनेमा हलमा लामाहरू जानु नै पहिलो गल्ती भयो। यही गल्ती महसुस गरी कतिपय लामाहरू यस घटनामा मौन बसे भने कतिपयले लामा सिनेमा हल पुगेकोमा आपत्ति जनाए।

नायिकाको थप्पड खाने लामालाई अब के गरिएला ? गुम्बाभित्रको अनुशासन तोडेर चलचित्र हेर्न आएकोमा उनी पक्कै पनि कारबाहीको भागिदार हुन्छन्। कारबाही कस्तो प्रकृतिको हुन्छ भन्ने भन्ने चाहिँ सम्बन्धित गुरुमा भरपर्छ। भविष्यमा यस्तो गल्ती नगर्ने कबुल गराएर माफी दिन पनि सक्छन्। त्यस्तै गुरु पर्‍यो भने स्वभावत: कडा सजाय भोग्नुपर्ने पनि हुनसक्छ। विहारबाट निष्कासन हुने संभावना पनि प्रबल छ।

आजभोलि कठोर शीलहरू पूर्ण रूपमा पालना नभएको देखेसुनिरहेकै सन्दर्भमा उनलाई गुरुले गालीसम्म गर्ने र आइन्दा यस्तो नगर्न चेतावनी दिने बाहेक अन्य सजाय पाउलान जस्तो लाग्दैन।

भिडियो क्लिप हेर्दा अनुमान गर्न सकिन्छ, भीडभाडमा ती नायिकाले आफूलाई कसले छोयो वा छोएन भन्ने कुराको हेक्का राख्नै सकेकी थिइनन्। घटनाअघि उनलाई समाउने छुनेलगायत क्रियाकलापमा संलग्न सबै पुरुषलाई खराब भनिहाल्ने अवस्था पनि छैन किनभने भीडभाडबाट बचाउन खोज्ने कतिपय उनकै सहकर्मीहरू थिए। नायिकाले थप्पड हानेपछि लामामाथि हातपात गर्ने रातो लुगा लगाएका पुरुष नायिकाकै सहकर्मी हुन् जबकि एकछिन अघिसम्म नायिकालाई समाएर बस्ने र पीठमा हात लाने उनै देखिन्छन्। नायिकाले आफूलाई पछाडि चिमोटेको भनिन्। घटनालाई आफ्नो पक्षमा बलियो पार्न नायिकाले त्यसो भनेको अनुमान हुन्छ।

अब प्रश्न उठ्छ, खराब स्पर्श (ब्याड टच) को आरोपमा थप्पड खाने व्यक्ति गुम्बाको नीतिनियममा बस्नुपर्ने लामा नभएर कोही सर्वसाधारण गृहस्थ हुँदा हुन त के हुन्थ्यो होला ? लामाविरुद्ध सुरुमा अनेक टिप्पणी भएजस्तै ती सर्वसाधारण पुरुषमाथि पनि हुन्थ्यो र उसको कुरा प्राय: कसैले सुन्दैनथ्यो। सोझै दोषी करार गरिन्थ्यो र अहिलेजस्तो अनेक कोणले खिचिएका भिडियो क्लिपहरूको संकलन तथा चर्चा नै हुँदैनथ्यो। लामालाई थप्पड हानेको प्रसङ्गमा नायिका र उनका साथीहरू पूर्णत: भ्रममा रहेको देखियो, त्यही भ्रममा सामाजिक सञ्जाल पनि बहकियो। कुनै पनि ठाउँ वा अवस्थामा ‘सेक्सुअल ह्यारेसमेन्ट’ हुनुहुँदैन, गर्नेमाथि कारबाही हुनैपर्छ तर यसो भन्दैमा जो कोही तुरुन्तै निष्कर्षमा पुगिहाल्नु उचित छैन किनभने पुष्टि हुनुपर्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने रहेछ भन्ने देखियो। निर्दोष व्यक्ति दोषी करार हुनु अर्को ह्यारेसमेन्ट हो। निर्दोषलाई दोषी साबित गर्नु न्यायको सिद्धान्त विपरीत छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Leave a Reply

Your email address will not be published.