बाैद्ध धर्मदर्शनले आत्माकाे अस्तित्वलाई स्वीकार्दैन । याे अनात्मावादी हाे । आत्माकाे अस्तत्वलाइ इन्कार गर्नु नै बाैद्ध दर्शनकाे विशेषाता हाे । फेरि याे दर्शनले पूर्वजन्म, वर्तमान जन्म र पुनर्जन्मकाे पनि कुरा गर्छ । अनेकाैं जन्महरूकाे शृङ्खला मान्नु र त्यसकाे अन्त्य गर्नु नै बाैद्ध दर्शनकाे एकमात्र उद्देश्य हाे । आत्मा मान्दैन भने पुनर्जन्म कसरी हुन्छ ? कसकाे हुन्छ ? भनेर प्रश्न गर्ने र खिसिट्युरी गर्नेहरूकाे आकार सानाे छैन । यसै सम्बन्धमा केही खुलाउने जमर्काे गर्छु ।
बाैद्धहरूले चित्तकाे अस्तित्वलाई मान्छ । चित्तकै कारण जन्महरूकाे श्रृङ्खला अगाडि बढ्छ । जीवनमा गरिने राम्राे नराम्राे कामहरूले संस्कारकाे निर्माण हुन्छ र यी संस्कारहरूले कालान्तरसम्मकाे जीवनहरूमा असर पार्ने हुन्छ । संस्कारहरूलाई बाेक्ने काम चित्तले गर्छ । त्यसाे भए आत्मा र चित्त उही त हाे, एउटै हाे, बाैद्धहरूले नबुझेकाे मात्रै हाे भनेर पुनः खिसिट्युरी गर्नेहरूकाे पनि कमी छैन । आत्मा र चित्तलाई एउटै बुझ्नुअघि यस सन्दर्भमा आत्मावादीहरू आफ्नै विरादरीबाट आउने आपत्तीदाेषकाे सामना गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रमुख प्रश्न छ ।
आत्मावादीहरू आत्मालाई नित्य, अजर, अमर र अविनाशी मान्छन् । याे उनीहरूकाे बटमलाइन हाे । तर बाैद्धहरूका लागि यहाँ नित्य, अजर, अमर र अविनाशी भन्ने कुरा केही छैन । सबै कुरा परिवर्तनशील छ। आत्मावादी र अनात्मावादी बीचकाे याे माैलिक भेद बुझ्न सकेन भने बाैद्ध दर्शन बुझ्न त सकिन्न नै, साथसाथै अन्य दर्शन बुझ्न बडाे मुस्किल हुन्छ । बाैद्धहरूले भन्ने गरेकाे चित्त भन्ने कुरा अरूजस्तै एउटा परिवर्तनशील कुरा हाे, निरूद्ध हुन्छ । आत्माकाे अस्तित्व मान्नेका लागि याे निरूद्ध त के, परिवर्तनसम्म पनि हुँदैन ।
बाैद्धहरूकाे प्रयास चित्त निरुद्ध गर्ने हाे । बाैद्ध साधनाकाे उद्देश्य भन्नु चित्तकाे निरूद्ध नै हाे । जब चित्त निरुद्ध हुन्छ, तब जन्म र मरणकाे सृङ्खला पनि टुट्छ । याे भनेकाे अब आइन्दा संस्कारहरूकाे निर्माण नहुनु हाे । जन्म र मरनकाे सृङ्खलाकाे कारण नै अन्त्य भइसक्नु हाे । चित्त निरूद्ध भइसकेकाे यस अवस्थालाइ नै बुद्धले दुःखकाे अन्त्य भनेका हुन् । दुःखकाे अन्त्य भनेकै निर्वाण हाे । मान्छे जीवित अवस्थामा नै निर्वाण लाभ गर्छन् र निर्वाण सुखकाे अनुभव गर्न सक्छन् । आफूले निर्वाण गरिसकेकाे कुरा अन्यलाइ बताउन सक्छन् । यति मात्र हाेइन, निर्वाण के हाे र के हाेइन भनी बताउने तथा यस्ताे यस्ताे गरेमा निर्वाणसम्म पुग्न सकिन्छ भनेर सिकाउन पनि सक्षम हुन्छन् । गाैतम बुद्धले ३५ वर्षकाे उमेरमा निर्वाण लाभ गरेका थिए भने ४५ वर्षपछि अर्थात् ८० वर्षकाे उमेरमा भएकाे देहान्तलाई महापरिनिर्वाण लाभ भनिन्छ । महापरिनिर्वाण शब्द अत्यन्त श्रद्धा राखेर बुद्धका लागि प्रयाेग गरिएकाे हाे । नत्र, निर्वाण दुइ प्रकारकाे हुन्छ । यथार्थ बुझेकाे, जन्म र मृत्युकाे कारणलाइ अन्त्य गरिसकेकाे तर जिउँदै रहेकाे अवस्थालाइ सउपादिशेष निर्वाण भनिन्छ । गाैतम बुद्धले ३५ वर्षकाे उमेरमा बाेधगयामा प्राप्त गरेकाे बाेधिलाभ सउपादिशेष निर्वाण हाे । अर्काे प्रकारकाे निर्वाण निरूपादिशेष निर्वाण हाे । अस्सी वर्षकाे उमेरमा गाैतम बुद्धले कुशीनगरमा निरूपादिशेष निर्वाण लाभ गरेका हुन् । सरल भाषामा भन्नुपर्दा जाे काेहीले अर्हत् मात्रै लाभ गरेकाे भएतापनि त्याे साैपादिशेष निर्वाण हाे र अब आइन्दा पुनर्जन्म नहुने गरी मृत्यु भएकाेलाइ निरूपादिशेष निर्वाण भनिन्छ । चित्तलाई निरुद्ध गरे भन्नुकाे अर्थ निर्वाण लाभ गर्नु हाे । याे कुरा हिन्दूलगायत अन्य धर्म-दर्शनकाे विषयवस्तु नै हाेइन । तसर्थ यही कुरामा दर्शनकाे क्षेत्रमा बाैद्ध दर्शन पृथक रहेकाे छ।
प्रश्न रह्याे, अझै पनि आत्मा र चित्त उहीँ हाे, बुद्धले आत्मा भन्ने कुरा नै बुझ्न सकेकाे रहेनछ भनेर जिकिर गरिरहन मिल्छ ? मिल्छ भने मिल्छ, शब्दमा आपत्ती छैन । तर आत्मा शब्दकाे स्थापित भाष्यलाइ बदलेर याे पनि अनित्य नै हाे, परिवर्तन हुन्छ, मर्छ भनेर मान्नुपर्याे । पहिले जस्ताे नित्य, अजर, अमर र अविनाशी मान्नु भएन । आत्मा पनि निरुद्ध हुन्छ, अनित्य नै रहेछ भनेर मान्नुपर्याे मान्ने हाे भने याे आत्मा भन्ने शब्दलाइ स्वीकार्नमा बाैद्धहरूलाइ कुनै समस्या हुँदैन । तर यसरी मान्नु भनेकाे आत्मावादीहरूकाे अस्तित्वमा आउने ठूलाे पहिराे हाे । त्यही अर्थ समाजमा स्थापित भएका कारण बुद्धले आत्मा शब्दलाई प्रयाेग नगरेकाे हुनसक्छ किनभने नित्यताकाे भाष्यका कारण भ्रम सिर्जना हुने संभावना प्रवल हुन्छ । बरू चित्तकाे पर्यायमा मन र विज्ञान शब्दकाे प्रयाेग भएकाे पाइन्छ ।
आफ्नैबारे जानकारी नराखी अनधिकृत रुपमा निश्चित धर्मदर्शनकाे प्रतिनिधित्व गर्दै अन्यका बारेमा गरिने टिकाटिपणी वाणीविलास र समय कटाउने मेलाेमेसाेभन्दा माथि हुँदैन । सिर्जनात्मक र उपलब्धीमूलक त हुँदैहुँदैन। खासै भन्ने हाेभने यस्ता अभ्यासहरू बाैद्ध धर्म हेर्नु र बुझ्नुभन्दा आफ्नै पूर्वमान्यताकाे कसीमा यसलाई ढाल्न खाेज्नु हाे । त्यसभन्दा अघि आफ्नै धर्म दर्शनकाे मूलभूत मूल्यमान्यताबारे जानकारी राख्दा राम्राे हुन्थ्याे।