कोरोनाको कहरमा नेपालमा पनि धेरै कुरा बदलिएको छ । ढलमलिँदो पर्यटन उद्योग त धराशयी नै भयो । यो उद्योग अब कसरी बौरिन्छ भन्ने चिन्तन भइरहेकै बेला केही अघि सरकारले ल्याएको आन्तरिक पर्यटनमुखी कार्यक्रम आशालाग्दो छ । समाज पूर्ववत् आफ्नो लयमा हिँडेपछि मात्रै कार्यान्वयन गर्न सकिने भए पनि यो त्यत्ति टाढाको कुरा होइन । तर, आन्तरिक पर्यटनलाई पुरानैपाराले चल्ने छाँटकाँटबाट जोगाउन नितान्त जरुरी छ ।

विगतमा पर्यटन वा पर्यटक भनेर हाम्रो सोच वा दृष्टिकोण तेस्रो मुलुकबाट आउने पर्यटकमा केन्द्रित थियो । आर्थिक क्षेत्रमा यसको योगदान जति देखिए पनि समग्रमा त्यो आँकडा कम नै हो । ती पर्यटकले गर्ने कुल खर्चमा थोरैमात्र अंश नेपालमा भित्रिने वा रहने हो । नेपालको आफ्नै उत्पादनको खपत पनि खासै हुँदैन । उनीहरूका लागि चाहिने खानपानदेखि अनेक कुरा बाहिरबाटै आयात गर्नुपर्ने हुन्छ । कतिपय सन्दर्भमा उनीहरूको ट्राभल एजेन्सी, टुरिस्ट गाइड तथा होटेल ‘बुकिङ’ आदिमा पनि नेपालीको पहुँच थोरैमात्र हुन्छ । यस्तो अवस्थामा नेपाली अर्थतन्त्रलाई थोरैमात्र योगदान दिएको हुन्छ । तर, आन्तरिक पर्यटकको खर्च बढीजसो नेपालमा नै रहने र आफ्नै उत्पादनको खपत यसमा हुने भएर वास्तवमा यो लाभदायक पनि छ ।

नेपालमा पर्यटन भनेर प्राकृतिक सौन्दर्यलाई मात्र बुझ्ने चलन पनि छ । मनमोहक पहाड, पर्वतको भूदृश्य, नदीनाला, प्राकृतिक बनोटमात्रै नभएर, सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमशृङ्खलाहरू यहाँको आकर्षण हुन् । तर, पर्यटन उद्योगको आकर्षण भनेर यतिमात्रै बुझ्नु धेरै हदसम्म साँघुरो सोचाइ हो । प्राकृतिकबाहेक विविधतापूर्ण जातीय समूह र तिनको सामाजिक, साँस्कृतिक, ऐतिहासिक तथा परम्परागत कुरा छन् । ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भमा नेपालका यी विषयवस्तु विश्वकै लागि उल्लेखनीय तथा नेपालमा मात्रै देख्न पाइने आकर्षण छन् । यी मौलिक कुराको संरक्षण र प्रचार–प्रसारमा लगानी गर्नु समग्रमा देशको अत्यावश्यक ठाउँमा काम गर्नु हो भने यो स्वतः पर्यटन उद्योगमा आकर्षण थप्नु पनि हो ।

नेपालको विविधताका सम्बन्धमा नेपाली नै अनभिज्ञ हुनु सुखद पक्ष होइन । राष्ट्र र राष्ट्रियताको भावना आफ्नो राष्ट्र र राष्ट्रियतालाई नजिकबाट हेर्न पाएमा बलियो हुने हो । यस अवस्थामा देश दर्शन भनौँ वा आन्तरिक पर्यटन, यसले राष्ट्र र राष्ट्रियताको विकासमा ठूलै टेवा पु¥याउने हुन्छ भन्नुमा दुईमत नहोला । यथार्थवादी भएर भन्नुपर्दा भौगोलिक रूपमा नेपाल एकीकृत भए पनि सामाजिक र साँस्कृतिक रूपमा पनि टिप्पणी गर्नै नपर्नेगरी नजिक भन्न मिल्दैन । हिमाली क्षेत्रको जनजीवनले तराईको जनजीवनलाई नजिकबाट चिन्ने पाइएको छैन भने पश्चिम नेपालको जनजीवन पूर्वी नेपालको जनजीवनबारे अनभिज्ञ रहेको पाइनु राज्य सञ्चालनमा देखिएको खोट हो । भिन्नाभिन्नै पृष्ठभूमि रहेका जनजीवनलाई बुझ्न विशाल दृष्टिकोण आवश्यक पर्छ तर हिन्दु धर्म, संस्कृति र हिन्दुशास्त्रहरूलाई मियो बनाएर बुझ्ने र बुझाउने प्रवृत्तिले एकाङ्की हो । यसले ती विविध सामाजिक, साँस्कृतिक तथा परम्परागत कुराहरूलाई मास्नु र एउटैमात्र पहिचानले छोप्नु हो । स्थानीय कला, साहित्य, संस्कृति, इतिहास, आस्था र विश्वाससँग सम्बन्धित विषयवस्तुलाई बुझ्न नसकेर वा बुझेरै पनि हठात् हिन्दुकरण गरिएको पाइन्छ । हिन्दु धर्म र परम्पराको कुनै प्रभाव नै नभएको गाउँठाउँ तथा नदीनाला एवम् हिमालहरूको नामाकरण हिन्दुअनुसार गरिने तथा गाउँठाउँ, नदीनाला तथा अनेक कुराको स्थानीय भाषा एवम् परम्पराअनुसारको नाम फेरिदिनु पनि विविधतालाई मास्नु नै हो । यस्तो विविधतालाई मास्नु मानवीय निधिलाई क्षति पु¥याउनु त हो नै, साथसाथै पर्यटन उद्योगलाई पनि यसले असर पारेको हुन्छ ।

नेपालीलाई नेपालको चिनारी दिनु आजको टड्कारो आवश्यकता हो । यो ज्ञानको अभावमा स्वयम् नेपाली नेपालका बारेमा अनर्गल कुरा गरिरहेको पाइन्छ भने कतिपय नीति निर्माता कुहिरोमा हराएको कागजस्तै हुने गरेको पाइन्छ । यो स्थिति देशकै लागि दुर्भाग्यपूर्ण हो । यो समस्याको निराकरण आन्तरिक पर्यटनबाट हुन सक्छ । आन्तरिक पर्यटनका लागि सरकारले ल्याएको कार्यक्रम निजामती कर्मचारीका लागि एक महिनाको बिदा हो । निजामती कर्मचारीबाहेक अन्य सर्वसाधारणलाई पनि ध्यानमा राख्नुका साथै यसलाई सिक्ने र सिकाउने लक्ष्य बनाउनुपर्छ ।
नेपालको एउटा पर्यटकीय क्षेत्र पोखरा हो भने यसको पहिचान बढीजसो फेवाताल र यहाँबाट देखिने माछापुच्छ«े हिमालका रूपमा प्रचार–प्रसार गरिएको पाइन्छ । प्राकृतिक विषयवस्तुका अलावा पोखरामा नै नेवार जनजीवन अर्को आकर्षण हुन सक्छ । गन्धर्व समुदायलाई चिन्ने सबैभन्दा उपयुक्त ठाउँ पोखराको बाटुलेचौर हो । कतिपय ब्राह्मण समुदायको विशिष्ट पहिचान पोखरामा देख्न पाइन्छ । लमजुङ, पर्वतलगायतका क्षेत्रबाट पोखरा झरेका गुरुङ समुदायलाई पनि यहाँ राम्रैसँग देख्न पाइन्छ । विभिन्न जातीय सम्मिश्रण रहेको पोखरामा जातीय सङ्ग्रहालय बनाएर कुन जाति कहिले आए र कसरी विकास गरे भन्ने जानकारी दिन सकियो भने अन्य जातीय समुदायका अलावा सम्बन्धित जातीय समुदायलाई नै कम रोचक हुँदैन । चितवन तथा सौराहालाई वन्यजन्तुमात्रै होइन, थारू जातिको सामाजिक तथा साँस्कृतिक जनजीवनबारे थाहा पाउने थलोका रूपमा पनि विकास गर्न सकिन्छ । यस्ता क्षेत्रहरू नेपालमा अनेकौँ छन् । नेपालका विभिन्न क्षेत्रलाई प्राकृतिक रूपमा मात्रै नभएर जातीय र संस्कृतिका रूपमा पनि पहिचान दिँदा एक नेपालीले अर्को नेपालीलाई व्यावहारिक रूपमा चिन्ने मौका पाइन्छ । विविध जातीय संरचना रहेको नेपाली समाजबीच अन्तरघुलन गराउनु जति आवश्यक छ, त्यति नै यो चुनौतीपूर्ण पनि छ । एउटाको पहिचानबाट अरूको पहिचानमा प्रभाव पार्ने र प्रभावित वा विलय गर्ने हिसाबले नभई, सबैले आ–आफ्नो पहिचान कायम नै राखेर एक–अर्कासँग चिनापर्ची गर्ने हुनुपर्छ । एक–अर्काको संस्कृति–संस्कार तथा परम्पराहरू कति मिल्छ वा मिल्दैन भन्ने कुराको अवलोकन गर्नु पनि कम रोचक विषय होइन । यस्तोखालको अन्तक्र्रियाले विभिन्न जातीय समुदायले नराम्रा कुरा छाड्ने तथा राम्रा कुरालाई अपनाउने हुन्छ । साथै चलनचल्तीबाट हराइसकेका आफ्नो कुराहरूलाई पुनर्जीवन दिन पनि प्रोत्साहित गर्ने सम्भावना छ ।

आर्थिक गतिविधिका कतिपय माध्यम विविध जातीय सम्पदाहरू पनि हुन सक्छ । तिनका सीप तथा परम्परागत उत्पादनलाई बजारीकरण गर्ने राम्रो अवसर आन्तरिक पर्यटन पनि हो । बाह्य पर्यटकको सम्भावना अबका केही वर्षसम्म ज्यादै न्यूनमात्र हुने आँकलन छ तर राम्रोसँग सञ्चालन गर्ने हो भने आन्तरिक पर्यटनले नै यो उद्योगलाई धान्न सक्ने पनि देखिन्छ । चीनलगायत कतिपय देशको पर्यटन उद्योग आन्तरिक पर्यटनबाटै फस्टाइरहेको सन्दर्भमा नेपालले यसतर्फ ध्यान दिनुको विकल्प छैन ।

(पहिलाे पल्ट गाेरखापत्र दैनिकमा १२ पुष, २०७७ मा प्रकाशित)

Leave a Reply

Your email address will not be published.