कनकमणि दीक्षित

लुम्बिनीको ऐतिहासिक गहिराइ र पुरातात्त्विक महत्त्व जति बुझ्छौं, उति नै हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्वका रूपमा रहने त छ नै, शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ।

  • हरिया समथर फाँट। वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप। चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका। चराचुरुंगीको चिरबिर। त्यससँगै मिसिएको गेरुवस्त्र पहिरिएका तन्नेरी तथा वृद्धवृद्धाको मधुर स्वर।

सहजै अनुमान लगाउन सकिन्छ, यो लुम्बिनीको आँगन हो। यो आँगनमा टेक्नुभएको छ? वा, पछिल्लो पटक कहिले पुग्नुुभएकोे थियो? कति समय बिताउनुभयो? या, लुम्बिनी पुग्नुभएको छैन?

जे होस्, लुम्बिनीसँगै जोडिएर आउने अर्को नाम हो, गौतम बुद्ध। अझ नेपालमा त लुम्बिनीको चर्चा हुने बित्तिकै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर नारा लागिहाल्छ। हुन पनि शाक्यमुनि बुद्ध नेपालको भूभागमा जन्मिएका थिए। त्यो भनेको लुम्बिनी नै हो।

बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने तीन वटा प्रमाण छन्। पहिलो, ‘मार्कर स्टोन’। लुम्बिनीमा भेटिएको ‘मार्कर स्टोन’ यहीँको रैथाने ढुंगा होइन। “अन्यत्रबाट ल्याएर राखिएको हो,” लुम्बिनी सम्बन्धी अध्ययन गर्दै आएका अध्येता वसन्त महर्जन भन्छन्, “त्यसले पनि लुम्बिनीको महत्त्व बुझाउँछ।”

दोस्रो, सम्राट् अशोकले गाडेको स्तम्भ। यो स्तम्भ पनि यस क्षेत्रमा नपाइने चट्टान हो। यो बनारसको गंगापारिबाट ल्याइएको हो। भारतवर्षभरि यस्ता स्तम्भ छरिएका छन्। यो सबैभन्दा उत्कृष्ट छ ।
किनकि, यो स्तम्भमा कुँदिएका अक्षर र तिनले बोकेको अर्थले यसको महत्त्व झल्काउँछन्। यो स्तम्भमा प्रयोग भएको भाषा पाली हो भने लिपि ब्राह्मी छ। यसका केही पक्ष अन्य अभिलेखमा नपाइने अध्येता महर्जन बताउँछन्।
सम्राट् अशोकलाई सम्बोधन गर्ने शब्द हो, ‘पियदसि’। प्रायः सबै स्तम्भमा ‘पियदसि’ लेखिएको हुन्छ। “यहाँ ‘देवानपियेन पियदसिन’ लेखिएको छ। महत्त्व दिएर राखिएको हो,” महर्जन अर्थ कोट्याउँछन्।

त्यस्तै, यो स्तम्भमा ‘अतन आगच’ भनेर लेखिएको छ। पाली भाषामा ‘अतन’ भनेको आफैं र ‘आगच’ भनेको आएर। अध्येता महर्जन भन्छन्, “म अशोक सम्राट् आफैं यहाँ आएर यो स्तम्भ गाडेको छु भन्ने हुन्छ।”

यसमा लेखिएका अरू तीन महत्त्वपूर्ण शब्द हुन्, ‘वीसतिवसाभिसितेन’। यो भनेको राज्यभिषेकको २०औं वर्षमा हो। यसले पनि ई.पू. २४९ मा अशोक लुम्बिनी आएको पुष्टि हुन्छ।

अर्को, यसमा ‘लुंमिनिगामे’ भनेर लेखिएको छ। “अरू अभिलेखहरूमा ठाउँको नाम उल्लेख हुँदैन। यहाँ लुम्बिनी गाउँ भनेर उल्लेख छ,” अध्येता महर्जन भन्छन्, “त्यसले पनि यो स्तम्भको महत्त्व झल्काउँछ।”

लुम्बिनीमा बुद्धि जन्मिएका हुन् भन्ने तेस्रो प्रमाण हो, मायादेवीको मूर्ति। यो मूर्ति कहिले बनेको हो भन्ने जानकारी छैन। यो मूर्ति इस्वीको तेस्रो र चौथो शताब्दीबीच बनेको अनुमान छ।त्यति मात्रै होइन, यो स्तम्भमा ‘हिंदबुधेजाते’ लेखिएको छ। त्यो भनेको ‘यहाँ बुद्ध जन्मेका हुन्’ भन्ने हो। यसमा पनि प्रश्न आउँछ, को बुद्ध त? त्यसको उत्तर लेखिएको छ, ‘सक्यमुनीति।’ यसले अझ स्पष्ट हुन्छ, शाक्यमुनि गौतम बुद्ध यहाँ जन्मेका हुन्।

चौथो शताब्दीको अन्त्य र पाँचौं शताब्दीको शुरूआततिर चिनियाँयात्री फाहियानले नेपालको यात्रा गरेका थिए। उनको यात्रा वर्णनमा पनि मायादेवीको मूर्तिबारे लेखिएको छ। मायादेवीको मूर्ति कस्तो थियो भन्ने उल्लेख छ। त्यतिवेला ‘ठूलो मूर्ति छ’ भनिएको छ। त्यो मूर्ति अहिले पनि देख्न पाउँछौं। मायादेवीको मूर्ति अलि बिग्रिएको र ताछिएको छ।

यी तीन वटै पुरातात्त्विक प्रमाणले शाक्यमुनि बुद्ध अर्थात् गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने पुष्टि गरेको अध्येता महर्जन बताउँछन्। उनी भन्छन्, “अभिलेखलाई पुष्टि हुने गरी ‘मार्कर स्टोन’ भेटियो। अभिलेखलाई पुष्टि हुने गरी अर्को पुरातात्त्विक प्रमाण पाउनु भनेको पुरातात्त्विक दुनियाँमा दुर्लभ कुरा हो।”

त्योभन्दा अघिल्लो वर्ष कपिलवस्तुको उत्खनन भएको थियो। निगलिहवास्थित अशोकस्तम्भमा रहेको मौर्यसम्राट अशोकको अभिलेखले प्राचीन कपिलवस्तुको अवस्थिति जनाएको थियो। यही भएर पुरातत्त्वविद् डा. फ्युहरर यता आएका थिए। “लुम्बिनी कपिलवस्तुभन्दा पूर्वमा पर्छ भन्ने थियो। त्यही आधार लिएर उहाँ लुम्बिनी खोज्न आउनुभएको हो,” अध्येता महर्जन भन्छन्। फाहियान लगायत चिनियाँ यात्रीले आफ्नो यात्रा वर्णनमा लुम्बिनीबारे उल्लेख गरेका भए पनि त्यसपछिको लामो समय यो ओझेलमै रह्यो। यसबारे सोधखोज हुन सकेन।

सन् १८९६ मा खड्गशमशेरलाई काठमाडौंबाट खेदियो। उनी पाल्पा गएर बस्न थाले। त्यहीबेला अंग्रेज-भारतका पुरातात्त्विक सर्भेयर एलोइस एन्टोन फ्युहरर नेपाल आए। र, खड्गशमशेरको सहयोगमा लुम्बिनीको उत्खनन गर्न थाले।

त्यतिबेला लुम्बिनीको पूरै क्षेत्रमा जंगल थियो। रेलको लिक बनाउनका लागि जंगल कटान भइरहेको थियो। त्यहीबेला अशोक स्तम्भ भेटिएको हो। “पहिले जंगलमा छोपिएर अज्ञात रूपमा रहेको थियो। जंगलभित्र भेटिएको ढुंगाको स्तम्भ शुरूमा अचम्मको वस्तु भयो र मजदूरहरू लगाएर उखेल्ने प्रयास हुँदै थियो। तर, डा. फ्युहररलाई यो देख्ने बित्तिकै अशोक स्तम्भ हो भन्ने थाहा भइहाल्यो। उनले यसलाई उखेल्न नदिई रोके,” महर्जन भन्छन्।

अशोक स्तम्भमा केही लेखिएको थियो। फ्युहररले त्यसलाई पढ्न लगाएर अर्थ्याए– गौतम बुद्ध यहीँ जन्मिएका हुन्। त्यो स्तम्भमा लेखिएका वाक्यलाई नेपालीमा उल्था गरेर अहिले शिलालेखमा उतारिएको छ। जसमा भनिएको छ, ‘देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको २०औंं वर्षमा आफैं आउनुभयो। यहाँ शाक्यमुनि बुद्धको जन्म भएकाले (बुद्ध जन्म) संकेतक शिलामा पूजा गरी यो शिलास्तम्भ स्थापना गर्नुभयो। यहाँ भगवान्‌काे जन्म भएकाले लुम्बिनी गाउँको बलि (कर) घटाई आठौं भाग मात्र कायम गर्नुभयो।”
अशोक स्तम्भमा कहीँ तीनतिर फर्केको सिंह, कहीँ घोडा त कहीँ गोरु राखिने गरिएको थियो। लुम्बिनीमा रहेको अशोक स्तम्भमाथि घोडा राखिएको थियो। घोडाको मुनि राखिने कमलको फूलको उल्टो भाग जस्तो सामग्री फेला परेको छ। तर, यहाँ राखिएको त्यो घोडा भने भेटिएको छैन। “लुम्बिनी परिसरमा अझै थुप्रै पुरातात्त्विक सामग्री भेटिन बाँकी छ। जस्तो पूर्व मौर्यकालका वास्तु संरचना पाइएको छ, सुरक्षाका लागि अहिले जमीनमुनि छोपेर नै राखिएको छ,” अध्येता महर्जन भन्छन्, “अशोक स्तम्भको घोडा पनि यतैकतै हुनुपर्छ। अझैसम्म भेटिएको छैन।”

यी सबै पुरातात्त्विक प्रमाणले बुद्ध अहिलेको नेपालमा जन्मिएका हुन् भन्ने पुष्टि गर्छ। तर, यसलाई राष्ट्रियतासँग जोडेर सीमित गरिएको छ। यो क्षेत्रको ऐतिहासिकता र पुरातात्त्विक महत्त्व बेग्लै रहेको अध्येता महर्जन बताउँछन्। यसबाट लाभान्वित हुन नसकेको उनी बताउँछन्। महर्जन भन्छन्, “दुनियाँ बुद्धको उपदेशबाट लाभान्वित हुने, हामी चाहिँ ‘बुद्ध वज बर्न इन नेपाल’ मात्र भनेर बस्ने हो भने त खासै हामीले उपलब्धि पाउँदैनौं।”

तीन बुद्ध

अशोक स्तम्भ लुम्बिनीमा मात्रै होइन, यस वरिपरिका अन्य क्षेत्रमा पनि भेटिएका छन्। कपिलवस्तु क्षेत्रमा सम्राट् अशोकले अरू दुइटा स्तम्भ पनि गाडेका छन्, कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्ध सम्बन्धी। त्यो भनेको लुम्बिनी क्षेत्र कम्तीमा पनि तीन वटा बुद्धको थलो हो भन्ने देखाउँछ।

शाक्यमुनि बुद्धबारे त एकदमै महत्त्वपूर्ण हिसाबले प्रचारप्रसार भइरहेको छ। अन्य दुई बुद्ध कनकमुनि र क्रकुच्छन्दबारे पनि सोधखोज तथा प्रचारप्रसार हुनुपर्ने आवश्यकता छ।

कनकमुनि बुद्धबारे उल्लिखित निगलिहवाको स्तम्भलेख अनुसार, यहाँ रहेको पुरानो स्तूपलाई मौर्य सम्राट्को राज्यारोहणको १४औं वर्षगाँठमा दोब्बर ठूलो बनाइएको थियो। २०औं वर्षगाँठमा सम्राट् अशोक आफैं आएर यो स्तम्भ र अभिलेख राखिएको हो,” अध्येता महर्जन भन्छन्।

त्यस्तै, गोटिहवामा क्रकुच्छन्द बुद्धबारेको स्तम्भ छ। त्यो स्तम्भको माथिल्लो भाग भाँचेर हराएको अवस्था छ। चिनियाँ यात्री त्सेङ साईले चौथो शताब्दी, फाहियानले पाँचौं शताब्दी र हुङ साङले सातौं शताब्दीमा लुम्बिनी भ्रमण गरेका थिए। “हुङ साङका अनुसार त्यहाँ अभिलेख थियो। फाइयाङ र त्सेङ साईले पनि यहाँ जन्मेको भनेर उल्लेख गरेका छन्,” उनी भन्छन्।

जसरी हामीले बुद्धलाई राम्ररी बुझ्न सकेका छैनौं, त्यसरी हामीले लुम्बिनी परिसरलाई पनि राम्ररी बुझ्न सकेका छैनौं। कपिलवस्तुलाई राम्ररी बुझ्न सकेका छैनौं। अन्यत्र रहेका बुद्धसँग सम्बन्धित स्थलको तुलनामा लुम्बिनी उत्कृष्ट छ।

राष्ट्रसंघका महासचिव र लुम्बिनीको पुनर्जन्म

भारतको बोधगया, सारनाथ, कुशीनगर, नालन्द, वैशाली, संकाश्य लगायतका स्थानमा बुद्धसँग सम्बन्धित तीर्थस्थल छन्। ती सबै क्षेत्रको भ्रमण गरेका अध्येता महर्जन भन्छन्, “लुम्बिनीजतिको भव्य, व्यवस्थित र सुन्दर तिनीहरू कुनै पनि छैनन्।”

यसको श्रेय भने बर्मेली नागरिक अर्थात् संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तलाई जान्छ। सन् १९६७ मा उनी लुम्बिनी भ्रमणमा आएका थिए। लुम्बिनी भ्रमणका क्रममा उनले भनेका थिए, “यो मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन हो।”

त्यसपछि उनले लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको एउटा समिति बनाए। त्यही अन्तर्राष्ट्रिय समितिले लुम्बिनीको गुरुयोजना बनाउने जिम्मा जापानी पुरातत्त्वविद् प्रा. केन्जो टाङ्गेलाई दियो। र, प्रा. टाङ्गेले सन् १९७८ मा लुम्बिनीको गुरुयोजना तयार गरे। त्यसका लागि तीन किमि लामो र एक किमि चौडा क्षेत्र छुट्याए।

प्रा. टाङ्गेले नबनाएको भए अहिलेको जस्तो ठूलो ठाउँ नहुने अध्येता महर्जन बताउँछन्। “टाङ्गेले नबनाइदिएको भए यसरी ठूलो ठाउँ हुने थिएन। बुद्ध जन्मेको सानो ठाउँ हुन्थ्यो। वरिपरि जुन अहिले सुन्दर छ, त्योे त अतिक्रमण भएरै सकिन्थ्यो होला,” महर्जन भन्छन्। बुद्धसँग सम्बन्धित संसारमा थुप्रै ठाउँ भए पनि लुम्बिनी सबैभन्दा राम्रो, व्यवस्थित र सुन्दर भएको उनी बताउँछन्।

गुरुयोजनापछि थुप्रै संरचना निर्माण भएका छन्। युनेस्कोको मापदण्ड अनुसार बनेका यी संरचना पनि अस्थायी हुन्। “यो लुम्बिनीको मौलिक स्वरूप होइन। यो मौलिक स्वरूप नभएका कारणले अस्थायी बनाइएको हो,” उनी भन्छन्।

हुन त लुम्बिनीको मौलिक स्वरूप कस्तो थियो भन्ने कसैलाई थाहा पनि छैन। त्यसका लागि अर्को पुरातात्त्विक प्रमाण चाहिने महर्जन बताउँछन्। उनी भन्छन्, “अहिले हामी जुन मायादेवीको मन्दिर भनिराखेका छौं, भेटिएको बेलामा त्यो त एउटा माटोको ठूलो ढिस्को थियो।”
 
लुम्बिनीको नेपाल मण्डल

लुम्बिनी क्षेत्रमा घुम्दै जाँदा कतै थाइल्यान्ड पुगेको जस्तो हुन्छ, कतै तिब्बत पुगेको जस्तो हुन्छ। कतै बर्मा त कतै श्रीलंका पुगेको भान हुन्छ। किनकि, लुम्बिनीभित्रै त्यस्ता संरचना छन्।

लुम्बिनीभित्र रहेको अर्को संरचना हो, नेपाल मण्डल। नेपाल मण्डलको वास्तुकला झल्किने बज्रयान विहार निर्माण गरिएको छ। यो पनि नेपाली नागरिकबाट रू.१०–२० संकलन गरेर बनाइएको हो। “यसको निर्माणका लागि धेरै मिहिनेत परेको छ। चन्दा संकलन गरेर निर्माण गरिएको हो,” अध्येता महर्जन बताउँछन्।

टोलटोल, गाउँगाउँ पुगेर चन्दा संकलन गरिएको उनी सम्झिन्छन्। बज्रयान बौद्ध धर्मावलम्बीमा वर्षमा एक पटक ‘पञ्जराँ’ भनेर दान लिने र दिने चलन छ। त्यरी संकलन गरिएको त्यो दान यसैमा प्रयोग गरिएको उनी बताउँछन्। “एक वर्षको होइन, कैयौं वर्षको दान परेको छ,” उनी भन्छन्।

साझा लुम्बिनी

५० वर्षअघि जापानी योजनाविद् प्रा. टाङ्गले गजबको योजना बनाइदिएका थिए। उनलाई संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तले काममा लगाए। त्यो बेला राजा महेन्द्रको शासन थियो। गौरीनाथ रिमाल, नवराज सुवेदी लगायतका विभिन्न मन्त्री र सरकारी कर्मचारीहरूले पनि यो काम अघि बढाउन सघाए।

ती सबैको परिश्रमले सुन्दर लुम्बिनीको सिर्जना भयो। रमणीय र फराकिलो ठाउँ छ। सुन्दर पोखरी छ। सिमसार क्षेत्र छ। चौडा र चिटिक्क परेका पदमार्ग छन्। “यसलाई उहाँले वास्तुकारले बनाएको एउटा शहरका रूपमा मात्रै दिनुभएको छैन, दार्शनिक पाराले नै जोड्नुभएको छ। गुरुयोजनालाई मात्रै हेर्‍यौं भने पनि दर्शनको झलक पाइन्छ,” अध्येता महर्जन भन्छन्।

गुरुयोजना अनुसार लुम्बिनीलाई उत्तर–दक्षिण गरी तीन भागमा बाँडिएको छ । उत्तरी छेउमा लुम्बिनी गाउँ रहेको छ। लुम्बिनी गाउँमा जोकोही पनि आउनसक्छन्। दक्षिणमा पवित्र बगैंचा राखिएको छ। बीचमा विहार छ। “लुम्बिनी गाउँबाट विहार क्षेत्रमा पुगेर आफूलाई शुद्धीकरण गरिसकेपछि पवित्र बगैंचास्थित मायादेवी मन्दिर जाने गरिन्छ। त्यो रूपमा कल्पना गरिएको छ,” उनी सुनाउँछन्।

त्यस्तै, लामो पोखरी छ। त्यहाँबाट सीधै अशोक स्तम्भ देखिन्छ। तर, अहिले बीचमा बुद्धको मूर्ति राखिएको छ। जसले अशोक स्तम्भ छेकिएको छ। यो गुरुयोजना विपरीत निर्माण गरिएको संरचना हो। गुरुयोजनामा बुद्धको मूर्ति राख्ने व्यवस्था गरिएको थिएन।

प्रा. टाङ्गेको कल्पना अनुसार, लुम्बिनीलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ। हुन पनि यो बुद्ध धर्म र बौद्धमार्गीका लागि मात्रै होइन, सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ। “सबैभन्दा राम्रो पक्ष, यहाँ जोकोही पनि छिर्न सक्छन्। यहाँ पस्न बौद्ध नै हुनुपर्दैन। कोही पर्यटक बनेर आउँछन्, कोही चाहिँ तीर्थयात्री बनेर आउँछन्,” यो साझा आध्यात्मिक तथा पर्यटकीय स्थल भएको बताउँदै अध्येता महर्जन भन्छन्, “यहाँ छिर्न तिम्रो धर्म के हो भनेर सोधिँदैन।”

यसलाई सबैको साझास्थलका रूपमा विकास गर्न जरुरी छ। त्यसका लागि २५ वर्षदेखि सुषुप्त अवस्थामा रहेको संयुक्त राष्ट्रसंघको लुम्बिनी सम्बन्धी समितिलाई पुनर्जागृत गर्न जरुरी छ। विश्व सम्पदा सूचीमा रहेका अन्य कुनै पनि सम्पदाका लागि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समिति बनेको छैन, त्यो लुम्बिनीका लागि मात्रै हो।

अब परराष्ट्र मन्त्रालयमार्फत त्यो समितिलाई आमन्त्रण गर्नुपर्छ। त्यस्तै, गुरुयोजनाभित्र रहेर यहाँका निर्माणाधीन संरचना पूरा गर्न सबै लाग्नुपर्छ। यसको संरक्षण र संवर्द्धन त सधैं जरुरी छ नै। यससँगै लुम्बिनीलाई बुझ्न सक्याैं भने मात्रै लुम्बिनीमा प्रज्वलित भइरहेको शान्तिदीप हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्व र शान्तिको प्रतिबिम्बका रूपमा प्रज्वलित भइरहनेछ।

(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को १७औं अंक ‘शाक्य मुनिकाे लुम्बिनी, हाम्रो बुझाइ’मा आधारित सामग्री।)
मूल श्राेत: https://www.himalkhabar.com/news/123030

Leave a Reply

Your email address will not be published. Required fields are marked *