विमल आचार्य
बसन्त महर्जनलाई बौद्ध धर्म/दर्शनका आधिकारिक खोजकर्ता मान्न सकिन्छ । किनभने, बुद्धसँग सम्बन्धित सातओटा पुस्तक प्रकाशित छन् उनका । उनको नयाँ पुस्तक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिविमा बुझाइएको शोधपत्रको परिमार्जित र विस्तृत रूप हो । पुस्तकमा उनले खश साम्राज्य बौद्ध धर्मप्रधान थियो भन्ने ‘हाइपोथेसिस’ पुष्टि गरेका छन् । खश साम्राज्य र सम्राट् को इतिवृत्तबाट सुरु भएको पुस्तकले त्यहाँको बौद्ध धर्मको अभ्यास र केन्द्रीयता स्पष्ट पार्छ । खश साम्राज्यको पतन र बौद्ध धर्मको क्षयीकरण कसरी भयो भन्ने तथ्य खोल्छ, पुस्तकले । लेखक महर्जनको लेखनीमा किन पनि दम छ भने आफ्नो अनुसन्धान–प्रश्नसँग सम्बन्धित सबैजसो ‘पूर्वसाहित्य’को अध्ययन, विश्लेषण र खण्डनसँगै स्थलगत भ्रमणसमेत गरेका छन् । पुस्तकमा संगृहीत तस्बिर, अभिलेख र वंशावलीले खश साम्राज्यमा बौद्ध धर्मको स्थिति (उन्नति र अवन्नति) प्रस्ट्याउन प्रमाणको काम गरेका छन् ।
इस्वीको बाह्रौँ शताब्दीतिर तिब्बतको खारी प्रदेशका शासक नागराजले अगुवाइ गरेको खश साम्राज्य भन्नाले हामी हालको कर्णाली क्षेत्र चिन्छौँ । तर, यसको सीमा पूर्वमा त्रिशूली नदी, पश्चिममा कुमाऊँ–गढवाल, उत्तरमा तिब्बतको खारी इलाकाको स्याङसुङ अर्थात् सम्पूर्ण गुगे–पुराङ क्षेत्र थियो । खश साम्राज्य हालको नेपालको क्षेत्रफलभन्दा पनि ठूलो ‘ट्रान्स हिमालय’ थियो, जो इस्वीको पन्ध्रौँ शताब्दीसम्म कायम रह् यो । नेपाल मण्डलसँग पटकपटक भिड्न आइपुगेका थिए जितारी, आदित्य, पुण्यलगायत लडाकूहरू । नागराजदेखि अभय मल्लसम्म आएर खश साम्राज्य आन्तरिक/बाह्य कारणले टुक्रिँदै गयो ।
विश्वकै प्रमुख धर्म हो, बौद्ध । गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अर्थहीन/औचित्यहीन रुवाबासी गर्नुभन्दा अरू जानेकै छैनौँ कि जस्तो पनि लाग्छ । प्राचीन खश साम्राज्यका शासक बज्रयान सम्प्रदायका बौद्ध थिए । खश सम्राट् अशोक चल्लको अधिकार बोधगयासम्म पुगेको थियो । सिञ्जाको सेरामा प्राप्त शिलालेखबाट रिपु मल्लले ‘लघुरत्नत्रय’ नामक ग्रन्थ रचना गरेको थाहा हुन्छ, ‘ त्रिरत्न’को अर्थ बुद्ध, धर्म र संघ हुन सक्ने अनुमान गरिएको छ ।
खश साम्राज्यका लामाथाडा, सेरिढुस्का, दसौदिबाडा, थपिबाडा, मिचागाउँमा चैत्य र स्तम्भ, दैलेखमा कीर्तिखम्बा, धर्मगढीमा बोधिसत्वको मूर्ति, दुुल्लु धुलेश्वरमा बुद्ध मूर्ति, बालेश्वर मन्दिरमा बुद्ध प्रतिमा, अछाममा कुचीविहार चैत्य, यस्ता थुप्रै तथ्य छन् खश साम्राज्यमा बौद्ध धर्मको अत्यधिक विस्तार थियो भन्नलाई । यस्ता ठाउँको तस्बिर पनि प्रस्तुत गरेका छन् महर्जनले । सुर्खेतको काँक्रेबिहारलाई जबर्जस्ती हिन्दु मन्दिर बनाइएको बारे त लेखकले सन् २००१ मै लेखेका रहेछन् ।
समृद्ध खश साम्राज्यमा बौद्ध धर्मको पतन कसरी भयो भन्ने तथ्य रोचक छ । मुस्लिम शासकसँगको लडाइँमा जित भए पनि हिन्दु धर्मसँगको संघर्षमा हार भएको संकेत लेखकले गरेका छन् । हिन्दु धर्ममा राजालाई विष्णुको अवतार मानिने हुँदा स्वयं राजाहरू विष्णु बन्न लालायित भएपछि बिस्तारै हिन्दुकरण बढ्यो । फेरि सोंग्पोहरू पनि बौद्ध धर्मविरोधी थिए । खश सम्राट्हरू आफू बौद्ध भए पनि पूरै साम्राज्य बौद्ध थिएन अर्थात् बौद्ध राज्य घोषणा गरी अरू धर्मावलम्बीहरूलाई दमन गरिएको थिएन । यही ‘खुकुलो’ व्यवस्थाले पनि बौद्ध धर्म संकुचनमा पर्दै गएको भनी तर्क–तथ्य प्रस्तुत गरिएको छ ।
सन् १३५० तिर तिब्बती सम्राट् चाङ–चुक–ग्याल्त्सेनको नेतृत्वमा तिब्बत एकीकरण हुँदा खश साम्राज्यबाट खारी प्रदेश गुम्यो । यसै गरी कुमाऊँ–गढवालले पनि विद्रोह गर्यो र सन् १३६५ मा कुमाऊँ पनि बेग्लियो । साम्राज्य विघटित भएपछिका शासक बौद्ध भएनन् । दक्षिणबाट खशान क्षेत्रमा आएर बसोवास गर्ने वैदिक–राजपुतहरू न्यून भए पनि चलाख र शिक्षित भएकाले उनीहरूको प्रभाव चाँडै बढ्यो । यसरी आन्तरिक र बाह्य थुप्रै कारणले बौद्ध धर्मको विस्तार ऋणात्मक हुँदै अन्तत: झन्डै शून्य भयो ।
खश साम्राज्यमा बौद्ध धर्मका थुप्रै प्रमाण सूचक (अभिलेख, चैत्य, विहार, गुम्बा इत्यादि) हुँदाहुँदै पनि नेपालका इतिहासकारले खश साम्राज्यको अध्ययन–विश्लेषण बौद्ध दृष्टिबाट नगरेको सन्दर्भमा महर्जनको अनुसन्धान सर्वथा नौलो र स्वीकार्य छ ।
सम्राट् नागराजलगायत उनका उत्तराधिकारी शासकहरू बौद्ध धर्मावलम्बी भए पनि खश साम्राज्यको अध्ययन गर्दा बौद्ध धर्मको प्राधान्य र प्रभावबारे इतिहासकारहरूले आँखा चिम्लेकाले आँखा खोल्ने महर्जनको प्रयास चित्तबुझ्दो छ । तिब्बती, श्रीपाली वंशावली/अभिलेखदेखि प्रशस्त सन्दर्भ सामग्रीसम्मले पुस्तकको विश्वसनीयता र प्रमाणिकता बढाएका छन् ।
‘नेपालमा कस्ता पुस्तक लेखिए हुन्थ्यो’ भन्ने प्रश्नमा सबैजसो विद्वान्ले भनेका हुन्छन्, ‘नेपालको समाज, इतिहास, संस्कृतिबारे खोजबिन गरी लेखिएका पुस्तक छैनन्, लेखिनुपर्छ ।’ महर्जनको यो ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक अनुसन्धानात्मक पुस्तक पढ्लान् के ती विद्वान्हरूले ? हामी उभिएको धरातल चिन्न पनि यो पुस्तक पठनीय छ ।
साभार : नेपाल