कतिपय व्यक्ति बौद्ध धर्म भन्नु हुँदैन, यो धर्म होइन भन्ने आग्रह राख्छन् । उनीहरूका अनुसार यो दर्शन हो र धर्म बनाएर गौतम बुद्धलाई अन्य धर्मका देवी देवतासरह प्रस्तुत गर्नु गल्ती हो । धर्म र दर्शनको यो बुझाइले कतिपय अवस्थामा असहज पनि बनाइदिन्छ । तर पूजापाठ, कर्मकाण्ड तथा रुढीवादी विषयवस्तुलाई धर्म र नैतिक शिक्षाका कुराहरूलाई दर्शन भनेर बुझ्ने गरेको स्वयं उनीहरूकै मन्तव्यबाट छर्लङ्ग हुन्छ । प्रायशः बौद्धिक उहापोहको लागि दर्शनहरू प्रयोग हुने गरेकोमा बौद्ध धर्मदर्शन दैनिक अभ्यास अर्थात् ‘वे अफ लाइझ’ पनि हुँदा यसले अरुजस्तै धर्मको रूप पनि लिएको बुझ्न सकिन्छ । यस अर्थमा धर्म, दर्शन, शिक्षा, उपदेश आदि पर्यायवाचीका रूपमा लिन सकिन्छ । तत्वलाई पनि धर्म नै भनिएबाट यसको अर्थविस्तार बुझ्न सकिन्छ ।

बौद्ध दर्शनसम्बन्धी एउटा छुट्टै पुस्तक तयार पार्ने योजना बनेको पनि लामो समय नै भयो । प्रकाशित स्वतन्त्र लेखहरूको संकलन गरी प्रस्तुत ‘बौद्ध दर्शन सहज चिन्तन’ तयार पारेको छु ।

लोमन्थाङ् गाउँ (मुस्ताङ) भन्दा माथि छोसेर गाउँमा बरालिइरहेको बेला एक संचारकर्मीले गुम्बाको दैलोमा लामासँग बौद्ध धर्म के हो ? अर्थात् बुद्धले के के उपदेश गरेका छन् भनेर सोधेका थिए । जीवनभर अध्ययन र साधना गरेर पनि बताउन असाध्य विषयलाई एकै बसाईमा त्यो पनि उभिएर दुई चार वाक्यमा जवाफ दिन कसरी पो सकिन्छ र ? यो तब मात्र सम्भव हुन्थ्यो, यदि प्रश्नकर्ता र उत्तरदाताद्वय उपतिस्स (बौद्ध धर्ममा प्रव्रजित हुनुअघि भिक्षु सारिपुत्रको नाम) र भिक्षु अस्सजि जस्तो हुँदो हो ।

भिक्षाटनमा आएका भिक्षु अस्सजीलाई उपतिस्स (सारिपुत्र)ले बाटोमा देख्छन् र भिक्षु अस्सजीको मुखमुद्रा तथा अन्य कुराहरु देखेर आश्चर्यचकित हुँदै तपाई को हुनुहुन्छ र कसको धर्म वा मतवादलाई मान्नु हुन्छ ? भनेर सोधेको प्रश्नमा ‘ये धम्र्मा हेतु–प्रभवा हेतुं तेषां तथागतो ह्यवदत् । अवदच्च यो निरोधो एवंवादी महाश्रमणः ।।’ भनेर जवाफ दिएका थिए । जवाफको अर्थ हो, यस जगतमा जतिपनि धर्म छन् ती सबै हेतु (कारण)बाट उत्पन्न हुन्छन् । तिनीहरुको हेतुका बारेमा तथागत बताउनु हुन्छ । यी धर्महरुको निरोध पनि हुन्छन् । महाश्रमणले यसको निरोधका बारेमा पनि भन्नु भएको छ ।

दार्शनिक पृष्ठभूमिको अभाव भएका व्यक्तिका लागि यो जवाफ मूलतः शब्दहरूको गुजुल्टा मात्रै होला । तर, सारिपुत्र र उनका साथीहरूका लागि यही जवाफ लाख भयो । यही जवाफले जीवन प्रवाह बदलियो । छोसेरमा प्रश्नकर्तालाई निराश नबनाउँ भनेरै हुनुपर्छ, लामाले चोरी नगर्नु, झुठो नबोल्नु हत्याहिंसामा संलग्न नहुनु भनी शीलका कुराहरू बताइदिए । प्रश्नकर्ताले यसैलाई बौद्ध धर्म भएको बुझाइ बनायो र यस्तो कुरा त आफ्नो (हिन्दू धर्म)सँग मिल्छ भन्दै हिन्दू र बौद्ध धर्म एउटै हो भन्ने निष्कर्षमा पुगे । र, आफ्नै खालको पाण्डित्याईं सुरु भइहाल्यो । यो प्रसङ्ग अन्य सन्दर्भहरूमा पनि लागू हुन्छ । बुद्ध र बौद्ध धर्मदर्शनलाई कतिपय अवस्थामा यसरी नै बुझ्ने र बुझाउने गरेको पाइन्छ ।

बौद्ध दर्शनमा नित्यताको कुरा कुनै पनि हालतमा मान्य छैन । अरु कुरा अनित्य मान्नेले पनि आत्मालाई नित्य मान्ने हुँदा स्वभावतः बौद्ध दर्शनले आत्मा भन्ने कुराको अस्तित्वलाई ठाडै अस्वीकार गर्दछ । पूर्वजन्म र पुनर्जन्मको प्रसङ्ग आउनासाथ यदि आत्माको अस्तित्व मान्दैन भने पूर्वजन्म र पुनर्जन्म कसरी हुन्छ भन्दै बुद्ध र बौद्ध धर्मदर्शनमाथि प्रश्न उठाइहालिन्छ वा खिल्ली उदाउन पनि पछि पर्दैनन् । बौद्ध दर्शनमा संस्कार कर्महरू संचय गर्ने काम चित्तबाट हुन्छ र एकपछि अर्को जन्मको श्रृंखलाहरूलाई यही चित्तले जोड्छ । तर, यो पनि अनित्य नै हुन्छ अर्थात् निर्वाण प्राप्तीको अवस्थामा चित्त पनि निरुद्ध हुन्छ । यसर्थ चार आर्यसत्य, प्रतीत्यसमुत्पाद र त्रिलक्षण (अनित्य, दुःख र अनात्म) बौद्ध दर्शनको बटम लाइन हो । यी कुराहरूलाई बेग्लाबेग्लै प्रसङ्ग र सन्दर्भमा बुझ्न सकिन्छ । हाल सम्मको बौद्ध अभ्यास पनि यसरी नै हुँदै आइरहेको छ ।

‘बौद्ध दर्शन सहज चिन्तन’मा संङ्ग्रहित लेखहरू बेग्लाबेग्लै सन्दर्भ र प्रसङ्गमा मागअनुसार लेखिएका हुन् । माग बमोजिमको आपूर्ति खालको लेख भएका कारण कतिपय कुराहरू पुनरुक्त छन् । नदोहो¥याउँ भनेर छाडेका कतिपय कुरा सम्पादनको क्रममा स्पष्ट नभएको भनेर थप्न लगाएको पाइन्छ । पुस्तक प्रकाशनको काम भइरहेको बेला दोहोरिएका कुरा हटाउँजस्तो लागेको पनि थियो तर कुन लेखबाट हटाउँ भन्ने प्रश्नको निक्र्यौल गर्न पूर्णतः असमर्थ भएँ । यही भएर पुनरुक्ति भएका कारण पाठकलाई असहज भए अन्य पुस्तकमा जस्तै यसमा पनि क्षमा याचना गर्न विवश छु । सुविधा र रुचीअनुसार छानी छानी पाठ पढ्ने पाठकलाई त सहज नै हुन्छ ।

पुस्तकमा परेका लेखहरू पत्रपत्रिकामा छापिँदा जस्तो रूपमा थियो त्यस्तै छैन । विषयवस्तुलाई स्पष्ट पार्न कतिपय कुरा थपेको छु भने कतिपय कुरा झिकेको पनि छु । शब्दहरू पनि यताउता पारेको छु । समग्रमा भन्नुपर्दा यी सामग्रीहरू परिमार्जन र पुनः सम्पादनको चरणबाट गुज्रेका छन् । आवश्यक ठाउँमा सन्दर्भ स्रोत खुलाइएको छ तर विश्वविद्यालयको प्राज्ञिक तथा अनुसन्धान लेखनमा जस्तो मेथोडोलोजीलाई अपनाइएको छैन । प्राज्ञिक क्षेत्रमै संलग्न भएर पनि पुस्तकलाई यस रुपमा प्रस्तुत गर्नुको कारण हो, यी अखवारीय लेखन हुन् । यसमा त्यस्तो सुविधा हुँदैन । पुस्तक सर्वसाधारणलाई ध्यानमा राखेर तयार पारिएको हो ।

कृतज्ञता,

यसमा समाविष्ट लेखहरु धेरैजसो नागरिक दैनिकमा प्रकाशित मेरो स्तम्भ लेख हुन् । ती लेखहरु निम्न मितिमा प्रकाशित छन्ः अनित्य दर्शन (७ मंसीर २०७६), पाँचौं आर्यसत्य प्रतीत्यसमुत्पाद दर्शन (२८ भदौ २०७६), बुद्धको मध्यम मार्ग (१८ साउन २०७६), गौतम बुद्धका नौ गुण (३२ जेठ २०७६), बौद्धका आभूषणहरू (१९ पुस २०७६), बौद्ध दर्शनमा पूर्वजन्म र पुनर्जन्म (३२ साउन २०७६), बोधिसत्वका व्यवहार (२५ माध २०७६), तथागत अर्थात् गौतम बुद्ध (३० कार्तिक २०७६), निर्वाणमा सुख नै सुख (१ चैत्र २०७६), थेरवाद, महायान र बज्रयान (२८ वैशाख २०७६), बौद्ध दर्शन होइन अहिंसा परमोधर्म (२ कार्तिक २०७६), स्वर्ग र नर्क (२१ मंसीर २०७६), बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोकहरू (२४ फागुन २०७६), बुद्ध कसका हुन् ? (२ चैत्र २०७५), बुद्ध हुन्, महामानव होइनन् (७ असार २०७६), बुद्ध र बौद्ध (१८ जेठ २०७६), हिन्दू र बौद्ध धर्मबीच भिन्नता र साम्यता (२१ वैशाख २०७५), आदि शंकराचार्यले नखाएको विष (२१ भाद्र २०७६), ‘यात्री’ कवितामा बौद्ध दर्शन (४ असोज २०७६), बौद्ध धर्मका अस्वाभाविक र असाधारण कुराहरू (७ भाद्र २०७६), गौतम बुद्धका आमा र छोराछोरीहरू (१० माघ २०७६), बुद्ध र पशुबलि (६ कार्तिक २०७६), विवाह सम्बन्ध र बुद्धका उपदेशहरू (१४ मंसीर २०७६), बुद्धसँग यौनका कुरा (१४ वैशाख २०७६), समाज सुधारक होइनन् गौतम बुद्ध (१७ फागुन २०७६), बुद्धको देवत्वकरण विरुद्ध (९ कार्तिक २०७६), बुद्धले जे खोजे त्यही पाए (१८ असोज २०७६), महिलालाई कस्तो व्यवहार गर्ने ? (११ असोज २०७६), बुद्धलाई ‘भगवान’ भन्नुमा के को आपत्ती ? (७ वैशाख २०७६), बौद्ध दर्शन निराशावादी होइन (४ साउन २०७६), हिंसा र अहिंसा (१४ भाद्र २०७६), तपश्वीको चर्चा र बुुद्धको हल्ला (१७ माघ २०७५), विश्व शान्तिमाथि बौद्ध भाष्य (३ फागुन २०७६), आत्महत्यामा बौद्ध दृष्टिकोण (४ पुस २०७६), गौतम बुद्धको नजरमा मृत्युदण्डको सजाँय (४ वैशाख २०७८) ।

यस्तै, छुवाछुतविरुद्ध गौतम बुद्ध (२३ कार्तिक २०७६), बौद्ध समाजमा जातीय विभेदको कालो धब्बा (८ चैत्र २०७६), ‘भिक्षा मागी हिड्दैमा भिक्षु हुँदैन’ (१४ असार २०७६), योग र आयुर्वेदमा गौतम बुद्ध (२९ फागुन २०७७), जलशुद्धिक अभ्यास (२१ असार २०७६), शाकाहारी अभियन्ताका भ्रम र गौतम बुद्धको शिक्षा (३० चैत्र २०७५), बुद्धको अपव्याख्या (१८ पुस २०७६), शान्तिमार्ग र क्रान्तिकारी बुद्ध (१२ पुस २०७६), संस्कार–संस्कृति र बौद्ध धर्मदर्शन (४ माघ २०७६), सैन्य सेवा र बौद्ध धर्म (२८ मंसीर २०७६), बुद्धले जवाफ नदिएका प्रश्नहरू (२५ साउन २०७६), बुद्धहरु र बौद्ध धर्मदर्शन (१५ जेठ २०७८), एक भौतिकवादी बौद्धको जीवन दर्शन (२१ चैत्र २०७७) र नागरिक परिवार मासिकमा बौद्धिक बुझाईभन्दा माथि (फागुन २०७६) प्रकाशित छन् ।

यसरी नै मधुपर्क मासिक.मा अनित्य, दृुःख र अनात्म (असार २०७७) र बौद्ध दर्शनमा हिनयान र महायान (पुस २०७५) प्रकाशित छन् । गोरखापत्र दैनिकमा विश्वमा किन फैलिँदो छ, बौद्ध दर्शन ? (८ जेठ २०७३) र ‘बुद्धं शरणं गच्छामि’ को निहितार्थ (३१ असार २०७४) प्रकाशित छन् । यसरी नै हसना म्यागेजिनमा बुद्ध धर्ममा क्षेत्रीयतावादको खतरा (२०७१) प्रकाशित छन् ।

यी लेखहरु पुस्तकभन्दा पहिल्यै पत्रपत्रिकामार्फत पाठक सामु पुयाउने पत्रपत्रिका तथा त्यसमा सम्वद्ध सम्पादक समूहप्रति लेखक ऋणी छ । यस्तै पुस्तकको यात्रासम्ममा सल्लाह सुझाव तथा सहयोग गर्ने सबैप्रति पनि कृतज्ञता ज्ञापन गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *